Logo

२४ मंसिर, सेढवा । पर्साको ठोरी गाँउपालिका वडा नं ५ सुवर्णपुरमा संचालित सुनाखरी होम स्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । कोभिडका कारण लकडाउन पश्चात पातलिएका पर्यटकहरु केही महिनादेखि भने बढ्दै गएका हुन् ।

विगतमा आन्तरिक पर्यटकहरु मात्र आउने गरेको भएतापनि अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायत पश्चिमी मुलुकबाट समेत आउने गरेको सुनाखरी व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेलले जानकारी दिनुभयो । अहिले महिनामा कम्तिमा १०० देखि १२० जना आन्तरिक र ३० देखि ३५ जना बाह्य पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । ६० जना पर्यटकहरु बास बस्न १५ वटा होम स्टेको व्यवस्था रहेको अध्यक्ष शम्भूरामले जानकारी दिनुभयोे ।

अमेरिकाको क्यालीफोर्नीया राज्य निवासी स्टेफनी थोर्नटनले होम स्टेको तीन दिनको बसाईमा निकै रमाइलो भएको बताईन । यहाँको शान्त वातावरण,हरियाली प्राकृतिक जगलं, स्थानीय खानाको परिकार तथा स्थानीयबासीको बिचमा बस्न पाउदाँ आफू निकै खुसी भएको स्टेफनीले बताईन । बसाईको क्रममा पर्सा राष्ट्रिय निकुञ्ज, दुधेश्वर महादेव मन्दिर, भाथा तथा खेतबारी र विभिन्न भ्यू प्वाइन्टको अवलोकन गरेको स्टेफनीले बताईन । नेपाली पुरुषसगँ काठमाण्डौ बस्दै आएकी उनले फेरी पनि आफ्ना साथीहरुसंग होम स्टेमा घुम्न आउने बताईन ।

त्यस्तै पर्साका गैरसरकारी सस्थांमा काम गर्दै आएका दामोदर यादवले होमस्टेको शान्त वातावरणमा आई बास बस्दा निकै खुशी भएको बताए । यसका साथै आफैले पकाउन पाउँदा रमाइलो हुने अनुभव आफूले लिएकोे यादवले बताए । होम स्टेको संचालनले स्वदेशी तथा बिदेशी पर्यटकहरुको आवागमन भईरहने हुदाँ समूदायको विकासमा निकै टेवा पुग्ने यादवको भनाई छ । यसको संरक्षण तथा प्रर्वदन गर्नु सबैको नैतिक दायित्व भएको यादवको तर्क छ ।

सुनाखरी होम स्टे व्यवस्थापन समितिका सचिव बलराम कोर्मोचाका अनुसार होम स्टेमा पाहुनाहरुका लागि खाना तथा नास्ताका लागि आवश्यक खद्यान्न हाईजेनिक हुने गरेको बताए । होम स्टेमा बस्न आउने पाहुनाहरुका लागि खाद्यान्नलाई विशेष रुपमा बनाइएको र सोही अनुसार कार्यन्यन भएको सचिव कोर्मोचाले बताए ।
होम स्टेमा प्रति कोठाको भाडा रु पाचँ सय रहेको र खाना पनि निकै सस्तो रहेको सचिव बलरामले बताए ।


सम्बन्धित समाचार