Logo

२४ मंसिर, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफुलाई सबैभन्दा समावेशी पार्टी बनाएको बताए पनि एक जना पनि दलित महिलालाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस नगरेको पाइएको छ ।

उक्त पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको १३ सिटमध्ये एक जना पनि दलित महिलालाई नपठाएको पाइएको हो ।रास्वपाले दलिततर्फ २ सिट प्राप्त गरेको भए पनि दुवै सिटमा दलितबाट पुरुषलाई सिफारिस गरेको छ ।

शनिबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले दलित समूहबाट पहिलो नम्बरमा सिफारिस भएका सन्तोष परियार र दोस्रो नम्बरमा सिफारिस भएका शिव नेपालीलाई समानुपातिकतर्फको सांसदका लागि सिफारिस गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए । यद्यपी दलित समूहबाट महिलामा पहिलो नम्बरमा रहेका कल्पना रोक्का भने सिफारिस हुनबाट रोकिएकी छन् ।

सुरुदेखि नै रोक्का सिफारिस हुने चर्चा चलिरहेका बेला उक्त पार्टीले दलितबाट भने एक जना पनि महिलालाई सिफारिस नगरेर दुवै जना पुरुषलाई सिफारिस गरेको हो । रास्वपाबाट ७ जना प्रत्यक्षबाट निर्वाचित भएकोमा एक जना पनि दलित समुदायको महिला निर्वाचित हुन सकेको छैन ।

रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले एक जना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथी अपमान गरेको बताईन । उनले भनिन, ‘पार्टीका नेताले भाषणामा हाम्रो पार्टीलाई एकदमै समावेशी चरित्रको छ भनेर दाबी गर्नुहुन्छ ।

तर, कति समावेशी छ भनेर अहिले समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावाली हेर्दा थाहा भैहाल्यो नि ।

२ जना दलित समुदायबाट पठाउदाँ एक जना पनि महिला नपठाउनुले पार्टी कति समावेशी छ भनेर देखाइहाल्यो नि ?’

उम्मेदवार रोक्काले पार्टीको उक्त निर्णय विरुद्ध पार्टी कार्यालयमा उजुरी गर्ने बताएकी छन् । उनले भनिनु्, ‘पार्टीले यस्तो निर्णय गर्नुले समग्र दलित महिलामाथी अन्याय भएको छ । यसका विरुद्ध हामी सशक्त आवाज उठाउछौ । पार्टी कार्यालयदेखि आवश्यकता अनुसार निर्वाचन आयोगमा पनि उजुरी गर्छौ ।’


सम्बन्धित समाचार