Logo

२७ मंसिर, वीरगन्ज ।स्थानीय तहको निर्वाचन सम्पन्न भएको ५ महिना बितीसक्दा समेत वीरगञ्ज महानगरको सहरी क्षेत्रका जीर्ण सडक मर्मत हुन सकेका छैनन् । जसका कारण नगरबासी मर्कामा परेका छन् ।

अत्याधिक सवारी साधनको चाप रहने वीरगञ्जको २ र ३ नम्बर सडकखण्ड जीर्ण छ । सडक जिर्ण र साँघुरो हुँदा सवारी आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

त्यसैगरी महाविर मन्दिर रोड, मिना बजार रोड, लाठगल्ली, भारतीय दुतावास पछाडिको सडकखण्ड पनि जीर्ण छ । यी क्षेत्रमा वर्षायाममा पानी जम्ने, अव्यवस्थित पार्किङ, उचित फोहोर व्यवस्थापनको कमी, छाडा चौपायाले गर्दा आवागमनमा समस्या हुने गरेको रमिता माया गुप्ताले बताउनुभयो ।

जीर्ण सडक मर्मतमा महानगरपालिकाले चासो देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय चुनाव भएको पाँच महिना वितिसक्दा समेत वडा अध्यक्षहरुले प्रभावकारी काम गर्न नसकेको रमिताको आरोप छ । वडा नं ६ का वडाध्यक्ष जयप्रकाश शाह अग्रवालले वडाको सडक मर्मतका लागि १० लाख रुपैयाँ बजेट राखेर समेत काम गर्न नसकेको बताउनुभयो ।

वडा नं. ६ का वडाध्यक्ष जयप्रकाशले पनि २ र ३ नं सडकको अवस्था बिग्रदै गएको स्वीकार गर्नुभयो । २ नम्बर रोड मर्मतका लागि प्रदेश सभा सदस्य रमेश पटेलले ४० लाख दिने आश्वासन दिएको समेत उहाँले बताउनुभयो । नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेपछि बजेट पास हुने र सडक मर्मतको काम शुरु हुने उहाँको भनाई छ ।

त्यसैगरि विभिन्न निर्माण कम्पनीले ठेक्का सकारेर मोबीलाईजेशन रकम लिएपछि वर्षौसम्म हराउने प्रवृत्तिले गर्दा नगरबासीले सास्ती खेप्दै आएका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रोकिएका योजनाको काम तत्काल सुचारु गर्न भन्नुभएको छ । महानगर भित्र विभिन्न निकाय र कार्यालयले लगाएको ठेक्काको बारेमा जानकारी लिँदै उहाँले काम सुचारु गर्न आग्रह गरेका हुन् ।

सघन शहरी विकास आयोजना, सिँचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाईटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागी भएका थिए ।

ठेक्का सकार गरेर वर्षौसम्म काम नगर्ने परिपाटी अब वीरगञ्जमा चल्दैन भन्दै मेयर राजेशमान सिंहले काम सम्पन्न गर्न आग्रह गर्नुभएको बैठकमा सहभागीले बताएका छन् ।

एक महिना भित्रमा निर्माण व्यवसायीले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने चेतावनी उहाँले दिनुभएको छ । विशेषगरि पप्पु कन्सट्रक्सनले धेरै काम लिएर अलपत्र छोड्दा नगरबासीले सास्ती भोग्नु परेको गुनासो आएको भन्दै मेयर राजेशमनले पप्पुले जिम्मेवारी पुरा नगरे नगरवासीको साथ लिएर घर घेर्ने चेतावनी दिनुभयो ।


सम्बन्धित समाचार