Logo

२७ मंसिर, वीरगन्ज । किशोरी सशक्तिकरण परियोजनालाई अब स्थानीय तहले स्वामित्व लिएर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भिएसओ नेपालको सहयोगमा दिव्य युवा क्लबले सञ्चालन गरेको ‘किशोरी सशक्तिकरणका लागि शिक्षा’ कार्यक्रमको जिल्ला परियोजना सल्लाहाकार समितिको समिक्षा एवं समापन चरण कार्यक्रममा बोल्ने सरोकारवाला व्यक्तिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले सरकारले बनाएको नीति अनुसार नै गैर सरकारी संस्थाहरुले गरेको कार्यक्रमहरु उपलब्धीपूर्ण भएको बताउनुभयो ।

उहाँले यसलाई निरन्तरता दिनका लागि आवश्यक पहल र सहयोग गर्ने बताउनुभयो । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले दिव्य युवा क्लबले सञ्चालन गरेको किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमले सरकारको शिक्षा नीतिमा महत्वपूर्ण भूमिका खेलेको र यस्ता संस्थाहरुको तीनवटै तहको सरकारलाई सहयोग आवश्यक रहेको बताउनुभयो ।

परियोजना संयोजक गणेश ठकुरीले परियोजनाले हाससम्म सम्पन्न गरेको कार्यक्रम र त्यसबाट प्राप्त उपलब्धीहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै परियोजनामा खटिएका स्वयंसेवक ठूलीदिदीहरुले आफूले गरेका कामको अनुभव र हाँसिल भएका उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए ।

दृष्टिविहिन विद्यार्थी शिवचरण चौधरीले कार्यक्रम मार्फत आफूले धेरै कुरा सिक्न पाएको बताउनुभयो । गाउँघरमै धूलोमैलोमा खेलेको अवस्थामा संस्थाले वीरगन्ज ल्याएर आवासीय विद्यालयमा शिक्षा दिएर भविष्य उज्यालो पार्ने काम गरेको उहाँको भनाई छ । दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


सम्बन्धित समाचार