Logo

२७ म‌सिर वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षकहरुले देशको आर्थिक समृद्धिका लागि देशमा शान्ति सुरक्षा आवश्यक रहेको बताएका छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा बिना आर्थिक समृद्धि सम्भव नहुने बताउदै व्यावसायीको सुरक्षामा प्रहरीको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघमा मंगलबार भएको उद्योगी व्यवासायीहरुसँगको छलफलमा दुवै प्रहरी महानिरीक्षकहरुले देशको शान्ति सुरक्षाका लागि सुरक्षा निकाय सदैव तत्पर रहेको बताए । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजस्व बढाउनेमा सबै निकाय चिन्तित रहेको बताउदै करतादाहरुलाई प्रोत्साहन गरे मात्रै राजस्व बढ्ने भएकोले प्रहरी करदाता अर्थात व्यावसायीहरुको प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शान्ति सुरक्षाको अवस्था सकारात्मक रहेको पाउँदा खुशी लागेको बताउदै अपराध नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले राजस्व घटेको सन्दर्भमा नै समस्या बुझ्न आएको जनाउदै सीमाक्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा अझै कडाई गर्ने र समस्या परेको ठाउँमा समाधानको पहल पनि गर्ने बताउनुभयो ।

उहाँले सीमाक्षेत्रमा सीसीटीभी जडानको लागि साढे ४ अर्बको योजना सहितको प्रस्ताव अर्थमन्त्रालयमा गईसकेको जानकारी दिदै यस अर्थमन्त्रालयबाट स्वीकृत भएर आएमा यसको कार्यान्वयन पहिलो मधेस प्रदेशबाट नै हुने आश्वासन दिनुभयो ।

वीरगन्जका उद्योगी व्यावसायीहरुले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्न माग गरेका छन् । दुवै प्रहरी संगठनका प्रमुखहरु वीरगन्ज आएको मौकामा वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नै कार्यकक्षमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेर औद्योगिक क्षेत्रको सुरक्षाका लागि स्थापित औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्न माग गरेका हुन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा।सुवोध गुप्ताले सुरक्षा निकायको सक्रियताले अहिले खासै सुरक्षाको चुनौती नरहेपनि औद्योगिक क्षेत्रमा पहिले स्थापना गरिएको औद्योगिक सुरक्षा बलले व्यावसायीहरुको मनोबल पनि उच्च भएको बताउनुभयो । आधा समस्या औद्योगिक सुरक्षा बलले नै समाधान गरिदिने हुँदा व्यावसायीहरुलाई पनि सहज भएको बताउदै औद्योगिक सुरक्षा बलको पुनः स्थापना गर्न पहल गर्न प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमक्ष माग गर्नुभयो ।

अध्यक्ष डा.गुप्ताले सीमा क्षेत्रमा अवैध ओसार पसारमा संलग्नहरुलाई निरुत्साहित गरी वैकल्पिक आय आर्जनमा संलग्न गर्नेतर्फ आवश्यक पहल गर्नुपर्ने बताउदै सीमाक्षेत्रका नेपाल भारतका सुरक्षा समितिको बैठक प्रभावकारी हुनुपर्ने र दुवैतर्फको अभिलेख राख्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडियाले सीमा क्षेत्रमा परिचालित पर्यटक प्रहरीलाई स्रोत साधन अभावले प्रभावकारी काम गर्न नसक्दा नेपालमा आउने भारतीय पर्यटकहरुसँग सीमामा गरिने व्यवहारले गलत सन्देश गएको भन्दै पर्यटक प्रहरीलाई सवारी साधनको व्यावस्था गरिदिन आग्रह गर्नुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवं होटल तथा पर्यटन व्यवासायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले वीरगन्जको ८० प्रतिशत होटलहरु भारतीय पाहुनाहरुमा नै निर्भर भएकोले भारतबाट सवारी साधन लिएर आउने पर्यटकहरुलाई सीमाक्षेत्रमा दुःख दिने गरेकोले यसको सुधारतर्फ दुवै प्रहरी महानिरीक्षकहरुको ध्यानाकर्षण गराउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले सुरक्षाका लागि प्रयोग गरिने प्रविधि सीसीटीभीको प्रभावकारितालाई बढाउनुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा मात्रै नभई वडा प्रहरी कार्यालय श्रीपुर र वीर्तामा समेत सीसीटीभी क्यामेराको नियन्त्रण कक्ष राखेर त्यहिबाट पनि सुरक्षाको व्यावस्था मिलाउनुपर्ने धारणा राख्नुभयो ।

उपाध्यक्ष हरि गौतमले राजस्व वृद्धि र शुद्ध व्यापारका लागि राज्यको नीतिलाई सुधार गर्नुपर्ने भएकोले सीमा क्षेत्रमा व्यापार व्यावसायमा आईपर्ने समस्याको बारेमा राज्यलाई औल्याईदिने काम गर्न सुरक्षा प्रमुखहरुसँग आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक मसाउद अलि खान, सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत बारा पर्साका प्रहरी प्रमुख र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार