Logo

२८ मंसिर, जीतपुर बारा । २३ बर्ष देखि थन्किएर बसेको बकुलिया स्थित खानेपानी टयाङ्कीबाट पानी सुचारु गर्न जीतपुरसिमरा उपमहानगरपालिका लागि परेको छ ।

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सर्बपक्षिय बैठकको आहवान गरी डिभिजन खानेपानी कार्यालय कलैयाका प्रमुख किशोरी यादबलाई खानेपानी सुचारु गर्न निर्देशन दिएका छन् ।

उनले आर्थिक तथा प्राबिधिक सहयोग गरि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलिया र वडा नं.७ जीतपुरका जनतालाई खानेपानी पुराउने लक्ष्य लिएर उपमहानगरपालिका अघि बढिरहेको बताए ।

खानेपानी समिति बकुलियाका प्रमुख अजित सिँहले बिभिन्न पक्षबाट आएको अवरोधले आफुहरु खानेपानी बितरण गर्न नसकेको बताए । उनले कहिले बाढी आएर खोलाको पानीले खानेपानीको पाईप बगाईदिने गरेको, कहिले सड्क निर्माण भएर अवरोध सिर्जना भएको र पछिल्लो चरणमा बजेट अभावको कारण बकुलिया र जीतपुर क्षेत्रमा खानेपानी बितरण गर्न नसकिएको बताए ।

त्यस्तै डिभिजन खानेपानी कार्यालय कलैयाका प्रमुख किशोरी यादबले खानेपानीका टयाङ्की लगायत अन्य उपकरणहरु राम्रो अवस्थामा रहेकाले करिब १ करोडको लागतमा जीतपुर र बकुलिया क्षेत्रमा खानेपानी बितरण गर्न सकिने जानकारी दिए ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय कुमार साहले उपमहानगरपालिकाबासी भएर पनि खानेपानी पिउन नपाउँनु दुर्भाग्यको कुरा भएको बताए । उनले बर्तमान खानेपानी समितिले खानेपानी बितरण गर्न असक्षम छ भने राजिनामा दिएर नयाँ समिति बनाउँनलाई बाटो प्रशस्त गरिदिनुपर्ने धारणा राखेका थिए ।


सम्बन्धित समाचार