Logo

२८ मंसिर, वीरगञ्ज । पर्सा जिल्लाका १४ वटा पालिकाको कित्ताकाट खुल्न अझै समय लाग्ने देखिएको छ । पालिकाले जग्गाको वर्गीकरण गरेर नपठाएका कारण कित्ताकाट खोल्न समय लाग्ने भएको हो । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले १४ वटा पालिकामध्ये सखुवाप्रसौनी गाउँपालिकाले मात्र सरकारी मापदण्ड अनुसार कृषि, गैर कृषि जग्गाको वर्गीकरण गरेर पठाएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको ५ महिनामा अधिकांश पालिकाले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । अहिले वीरगंज महानगरपालिका, सखुवाप्रसौनी र पकाहामैनपुर गाउँपालिकाले मात्र वर्गीकरण गरेका छन् तर यी पालिकाहरूले गरेको वर्गीकरण पनि सरकारी माापदण्ड अनुसार नरहेको मेन्टेनेन्स नापी शाखा वीरगञ्जका प्रमुख नारायण श्रेष्ठले बताउनुभयो । आफ्नो कार्यालयमा पकाहामैनपुर गाउँँपालिकाले मात्र वर्गीकरण गरेको जनाउ कागज आएको र अन्यको नआएको श्रेष्ठले बताउनुभयो ।

मालपोत कार्यालय, पर्सामा भने सखुवाप्रसौनी गाउँपालिकाको मात्र जनाउ कागज पुगेको छ । वीरगञ्ज महानगरपालिकाले मङ्सिर १५ गतेको बोर्ड बैठकबाट सरकारले तोकेको भूउपयोग नियमावली अनुसार कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेको थियो ।

तर महानगरले वर्गीकरण गरेको सो आशयको पत्र भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा र मेन्टेनेन्स नापी शाखामा पुगिसकेको छैन । वीरगंज महानगरले औद्योगिक, कृषि, आवासीय, सामाजिक, नदी, पोखरी गरी सातवटा क्षेत्रमा वर्गीकरण गरेर सङ्घ तथा प्रदेश सरकारमा पत्राचार गरिसकेको महानगरको नक्शा शाखाका प्रादेशिक सल्लाहकार सञ्जय खेतानले बताउनुभयो । पर्सा जिल्लाका पालिकाले सरकारी निर्णय अनुसार वर्गीकरण गर्न नसकेको मेन्टेनेन्स नापी शाखा पर्साका प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले स्पष्टरूपमा जग्गाको वर्गीकरण गर्नुपर्ने र सो अनुरूप नक्शा बनाउनुपर्ने बताउनुभयो । सरकारले जेठ २७ गतेदेखि मङ्सिर २३ गतेसम्म देशभरका ७५३ वटै पालिकालाई भूउपयोग नियमावली अनुसार कृषि, गैरकृषि जग्गाको वर्गीकरण गर्न भनेको थियो । भने वर्गीकरण नगरेका पालिकाहरूको ससीम जग्गाबाहेका जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

 

 


सम्बन्धित समाचार