Logo

२८ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले आज समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा भोली राष्ट्रपतिलाई बुझाउने भएको छ ।

आयोगले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको एकसात भित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष बुझाउनु पर्ने प्रावधान बमोजिम भोली विहिवार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन आगामी पुष २ गते सातै प्रदेशका प्रदेश प्रमुख समक्ष आयोगले बुझाउने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना
(३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्ष तर्फ निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

त्यसैगरी प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि कूल उम्मेदवारको संख्या जम्मा ११ हजार ५४२ रहेको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा ४ लाख ५० हजार मतदाता रहेका थिए ।

देशभरीका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप १४१ अस्थायी मतदान स्थलहरूको समेत व्यवस्था गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो ।

प्रदेश सभातर्फ प्रत्यक्षतर्फ निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहे बमोजिम प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ ।
त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो । यसैगरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेका थिए ।


सम्बन्धित समाचार