Logo

वीरगञ्जका दिवंगत पत्रकार नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गरेको छ । आज बसेको पर्सा शाखाको बैठकले नरेशको स्मृतिमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

नरेश पत्रकार महासंघ पर्सा शाखा कार्य समिति सदस्य थिए । महासंघले १ लाख ५० हजार रुपैयाँ जम्मा गरेर अक्षय कोष स्थापना गर्ने र अन्य निकायसँग सहयोगका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष अनुपले जानकारी दिए ।

अक्षय कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने आम्दानीको २० प्रतिशतले ‘स्वर्गीय नरेश स्मृति युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने र बाँकी ८० प्रतिशत परिवारिक खर्चका लागि दिने निर्णय बैठकले गरेको छ । एक दशकसम्म पत्रकारिता गरेका तथा ४० वर्ष ननाघेका युवा पत्रकारलाई दिने पुरस्कार पत्रकार महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ ।

पत्रकार महासंघ पर्सा शाखाले सर्राफको १३ औं दिनको पूण्य तिथीमा आज श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सोही कार्यक्रममा पूर्व मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले पनि अक्षय कोषमा १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन । यसअघि वीरगञ्ज महनगरका मेयर राजेशमान सिंहले अक्षय कोषका लागि महानगरबाट १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

महानगरले परिवारका लागि राहतस्वरुप ५ लाख रुपैयाँ दिने पनि घोषणा गरेको थियो भने समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले गरी २ लाख रुपैयाँ ६ वर्षीया छोरी श्रेयालाई हस्तान्तरण गरीसकेकोे छ । अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

३८ वर्षिय सर्राफको मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।


सम्बन्धित समाचार