Logo

२९ मंसिर, वीरगञ्ज । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जले मधेश, बागमती र गण्डकी प्रदेशमा करीब साढे ७ हजार मेट्रिक टन युरिया मल पठाएकाे छ । युरिया मलको चरम माग भईरहेको बेला कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयले गत कात्तिकदेखि हालसम्म ७ हजार ४ सय ८२ मेट्रिक टन युरिया मल पठाएकाे हो ।

कम्पनीको प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार ग्लोबल टेण्डरबाट भारतको आइपीएल कम्पनी मार्फत ३० हजार मेट्रिक टन युरिया मल आउने क्रममा छ । त्यसमध्ये १२ हजार मेट्रिक टन युरिया वीरगञ्ज प्रादेशिक कार्यालयले पाउने उहाँले बताए ।

१२ हजार मेट्रिक टन मध्ये ८ वटा रेल्वे ¥याकमा आएको ७ हजार ९ सय ५० मेट्रिक टन युरिया मल कार्यालयलाई प्राप्त भईसकेको र बाकी मल आगामी शुक्रबारसम्ममा आइपुग्ने उनले जानकारी दिए । बाँकी मल २ वटा रेल्वे ¥याकमा आउने छ । प्राप्त मल मध्ये सबै भन्दा बढी मधेश प्रदेशका जिल्लाहरुमा ४ हजार ६ सय ९५मेट्रिक टन युरिया मल पठाएकाे हाे ।

त्यसैगरी, बागमती प्रदेशका जिल्लामा २ हजार ४ सय २ दशमलव ५ र गण्डकी प्रदेशका जिल्लाहरुमा ३ सय ८५ मेट्रिक टन युरिया मल परिचालन भएको छ । माग भएका अन्य जिल्लामा उनीहरुलाई प्राप्त कोटा अनुरुपनै मल पठाउने गरिएको प्रादेशिक कार्यालयका सूचना अधिकृत कुमारले जानकारी दिए ।

हाल परिचालन भई रहेको मल गहुँ बाली सिजनका लागि लक्षित गरेर परिचालन गरिएको र त्यसले जिल्लाका किसानको युरिया मलको माग धेरै हदसम्म सम्बोधन गर्ने प्रादेशिक कार्यालयका सूचना अधिकृत कुमारले बताए ।


सम्बन्धित समाचार