Logo

१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।

२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको छ ।

बरामद गरिएका सामानको मूल्य अन्दाजी ३५ लाख रुपैयाँ कायम गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ‘सूचनाको आधारमा टोली पठायौं, आन्तरिक राजश्व र भन्सारसँग पनि समन्वय गरेका थियौं, सञ्चालकले सामानको बिल विजकहरु देखाउन सकेनन्,’ उनले भने, ‘भन्सार छलेर ल्याएको सामान हो भन्ने भएपछि बरामद गरेर भन्सारमा बुझाएका छौं ।’

खुला सीमाको दुरुपयोग गर्दै व्यापारीहरुले साइकल, मोटरसाइकलमा थोरै–थोरै परिमाणमा सिमावर्ती भारतीय बजार रक्सौलबाट खाद्यान्न लगायतका सामग्री दिनहुँ भित्राउने गरेका छन् । नेपालमा भन्दा कम मूल्यमा भारतीय बजारमा पाइने खाद्यान्न, लत्ता कपडा, औषधीजन्य सामग्री, इलेक्ट्रिक सामान, मोटरका पाटपुर्जाहरु भन्सार छलेर भित्राउने गरिन्छ । तस्करीको माध्यमबाट सामान ल्याउँदा भन्सार राजश्व पनि छलिने हुँदा व्यापारीले ती सामान बिक्रीबाट बढी मुनाफा आर्जन गर्छन् ।

वीरगञ्जको मुख्य सडकमै साइकलमा दुई, तीन बोरा चामल, आलु बोकेर ल्याउने गरेको दृश्य देख्न सकिन्छ । कतिपय तस्करले जनपथ तथा सशस्त्र प्रहरीकै मिलेमतोमा नै यस्ता अवैध गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर प्रहरी नायब उपरीक्षक गिरी यस्तो अरोपको खण्डन गर्छन् । ‘एकरदुई बोरा घरायसी प्रयोगका लागि ल्याएको भन्छन्, त्यसैले छोडिएको हुन्छ,’ उनले भने, ‘समातिहाले पनि घरायसी प्रयोगका लागि पनि सामन ल्याउन नदिने भनेर हल्ला गर्छन्, छोडिदिनका लागि दबाव आउँछ ।’


सम्बन्धित समाचार