Logo

वीरगञ्ज, २९ मंसिर । भारतको बिहारमा हुन गइरहेको नगरपरिषद (स्थानीय तह) को निर्वाचनका लागि रक्सौल–वीरगन्ज नाका सिल गरिएको १२ घण्टा नपुग्दै शुक्रवार विहान देखि खुलेको छ ।

निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने व्यवस्थालाई भारतको पूर्वी चम्पारण प्रशासकले खुकुलो बनाउदै नेपालसँगको सीमा एक दिनको लागि मात्र बन्द गर्ने निर्णय गरेको छ ।
बिहारको रक्सौल नगरपालिकामा पुष ३ गते (डिसेम्बर १८ तारिक) हुने नगरपरिषदको निर्वाचनका लागि भारतीय प्रशासनले पूर्व सूचना विना बिहिबार दिउँसो देखि रक्सौल–वीरगन्ज नाका एकतर्फी रुपमा सिल गरेको थियो ।

सीमावर्ती नेपाली प्रशासनसँग पूर्व समन्वय नै नगरि भारतीय प्रशासनले मितेरी पुलमा डाढ खसाएर नाका सिल गरेपछि वीरगन्ज–रक्सौल आउजाउ गर्ने नेपालीहरुलाई सास्ती भएको थियो ।

पुष ३ मा हुने नगरपरिषदको निर्वाचनका लागि भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजे देखि पुष ३ गते (डिसेम्बर १८ तारिक ) राति १२ बजे सम्म ७२ घण्टाका लागि नाका सिल गरेको भएपनि सीमा क्षेत्रका नागरिकलाई आवत जावतमा अप्ठारो परेको भन्दै निर्वाचनको दिन विहान ७ बजे देखि साँझ ५ बजे सम्म मत्र नाका बन्द गर्नेगरी आज बिहान देखि नाका खोलिएको हो ।

पूर्व सूचना बिना भारतीय प्रशासनले मितेरी पुलमा फलामे ढाट नै खसाएर नाका सिल गर्दा रक्सौल–वीरगन्ज आउजाउ गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई सास्ती भएको थियो ।

मोतिहारी पूर्वी चम्पारण जिल्ला निर्वाचन पदाधिकारी तथा जिल्ला अधिकारी विश्वास भाजनले हिजो राती एक विज्ञप्ती जारी गर्दै नेपालसँगको नाका निर्वाचनको दिन अर्थात डिसेम्बर १८ तारेखको दिन मात्र नाका बन्द रहने जनाएको छ । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न अन्तराष्ट्रि सीमा नाका तीन दिन बन्द गर्ने अम्यास रहेता पनि दुर्वै देशका जनताको हितलाई ध्यानमा राखेर निर्वाचनको दिन मात्र बन्द गर्ने निर्णयमा पुगेको पूर्वी चम्पारण जिल्ला अधिकारी भाजनले जनाएका छन् ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी महेश तिमल्सिनाले नाका सिल गर्नेबारे भारतीय प्रशासनले कुनै छलफल र समन्वय नगरेको बताए । हिजो दिउँसो एक्कासी भारतीय प्रशासनको तर्फबाट ७२ घण्टाका लागि नाका सिल गरिएको बारे जानकारी सहितको पत्र आएको थियो उनले भने ।

नाका सिल बारे भारतीय पक्षबाट पत्र आएपछि साँझ जिल्ला सुरक्षा समितिको बैठक बसेर भारतीय चुनावलाई मध्यनजर गरि ७२ घण्टाका लागि वीरगञ्ज नाकामा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

आगामी पुष ३ गते अर्थात आइतबार त्यहाँ हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त आइतबार वीरगञ्ज(रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शुक्रवार बिहान देखि नाका खोलीएको छ ।


सम्बन्धित समाचार