Logo

२ पुष, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले घोषणा गरेको ६ महिना वितिसक्दा पनि आफूले प्रतिवद्धता गरेको काम पुरा गर्न सकेका छैनन् ।

सपथ ग्रहण समारोहमा गरेको घोषणा महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु प्रयोजनका लागि मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अहिले सम्म कार्यान्वयन भएको छैन ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरका रामाकान्त चौधरीले मेयरले गरेको प्रतिवद्धताले उत्साहित भएका जनतालाई उनको कर्मले निराश बनाएको बताए । उनले हाल सम्म वीरगञ्ज महानगरपालिका क्षेत्र भित्रका जनताले विद्युतमा कुनै सुविधा नपाएको बताए । निर्वाचित भएको ६ महिना पुगि सक्यो मेयरले गरेको बाचा अधुरो छ, उनले जनतालाई झुक्काउने काम गरे चौधरीले भने ।

वीरगञ्ज महानगरपालिका भित्र बसोबास गर्ने व्यक्तिहरुले प्रयोग गर्ने घरेलु प्रयोजनको बिद्युत मिटरमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्दा लाग्ने महशुल महानगरले नै भुक्तानी गर्ने निर्णय महानगरापलिकाको पहिलो बोर्ड बैठकले गरेको थियो । ३० युनिट भन्दा बढी प्रयोग गर्नेहरुको हकमा भने यो लागु नहुने महानगरपालिकाको निर्णयमा उल्लेख गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरण वीरगञ्ज केन्द्रका लेखा अधिकृत राकेश झाले महानगरपालिकाबाट भुक्तानी गरिने कुरा अनौपचारीक रुपमा सुनेको भएतापनि महानगरपालिकाले न्यूनतम विद्युत महशुल प्रयोगकर्ताको बिद्युत बापतको रकम अहिले सम्म महानगरपालिकाले नबुझाएको बताए । महानगरपालिकाको तर्फबाट बिद्युत रकम तिर्ने सम्बन्धमा कुनै चासो व्यक्त नगरिएको झाको भनाई थियो ।

त्यस्तै महानगरभित्र रहेका ४ सय ७० वटा कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने मेयर सिंहले निर्णय गरेका थिए । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न उक्त निर्णय गरिएको भनिएता पनि हाल सम्म कृषिमा प्रयोग भएका मिटरका बिद्युत शुल्क समेत महानगरले नतिरेको बिद्युत प्राधिकरण वीरगञ्ज केन्द्रका लेखा प्रमुख राकेश झाले बताए ।

सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभूति गराउने उद्घोषका साथ घोषणा गरेका मेयर राजेशमान सिंहले आफूले गरेको प्रतिबद्धता अनुरूपको काम नगरेपछि बिद्युत महशुल र सिँचाई मिटरको शुल्क सम्वन्धीत व्यक्तिले नै तिर्दै आएको वीरगञ्ज ३१ बेल्वाका किसान मुन्नीलाल यादवले बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले साउन १ गते देखिको कृषि प्रयोजनको मिटरमा उठेको महशुल महानगरले तिर्छ भनेका थिए तर अहिले सम्म महानगरबाट शुल्क नतिरेपछि जरीवाना सहित मिटरको बक्यौता तिर्नु परेको यादवको भनाई छ ।

मेयर राजेशमान सिंहले चुनाव जिते लगत्तै पदवहाल भएको एक हप्ता भित्रमा पुरा गर्छु भनेका प्रतिवद्धता ६ महिना वितिसक्दा पनि अधुरै रहेका छन् यो जनतालाई झुक्काउने काम मात्र हो बेल्वाका किसान यादवले भने ।

बिद्युतको कुरा मात्र हो खेती गर्ने जमिनको कर समेत तिनगुणाले महानगरले बढाएको छ, मुन्नीलाल यादव भने “पहिला हामीले कठ्ठाको ५० रुपियाँ तिरेका थियौ अहिले मेयरमा राजेशमान आएपछि कठ्ठाको ३५० रुपियाँ लागेको छ ।”

स्थानीय सरकार भन्ने मात्र हो हामी जस्ता सामान्य किसानको पक्षमा होइन धनीमनीको पक्षमा काम गर्ने निकाय हो, यो यादवले गुनासो गरे । जनता गरिव हुदै गएका छन् महानगरपालिका धनी हुदै गएको छ, यसले हाम्रो पक्षमा काम गर्दैन बेल्वाका किसान मुन्नीलालले भने ।

वीरगञ्ज महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतले महानगरपालिकाले बिद्युत महशुल तिर्ने निर्णय गरेको तर त्यसको प्रकृयाका बारेमा स्पष्ट व्यवस्था नभएकोले तिर्न नसकिएको बताए । किसानले खेतमा प्रयोग गर्ने बोरिङको मिटरमा उठेको रकम र न्यूनतम ३० युनिट सम्मको विद्युत महशुल तिर्ने कुरा सुनेको तर कसरी तिर्ने भन्ने बारेमा स्पष्ट कार्यविधि नभएकोले महानगरपालिकाले भुक्तानी गर्न नसकेको लेखा अधिकृत राउतले जानकारी दिए ।

बिद्युत प्राधिकरण वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झाले महानगरपालिकाले घरेलु प्रयोजनमा खपत हुने न्यूनतम शुल्क र किसानले प्रयोग गर्ने कृषि प्रयोजनको बिद्युत मिटरमा उठेको रकम महानगरपालिकाले सिधै विद्युत प्राधिकरणको नाउँमा तिर्ने भन्ने कुरा सुनेको तर हाल सम्म भुक्तानीका बारेमा महानगरपालिकाले कुनै चासो नदेखाएको बताए ।


सम्बन्धित समाचार