५ पुष, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भोली हुने निर्वाचनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापति देउवाको प्रस्तावकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी उपसभापति पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उनको प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।
कांग्रेस संसदीय दलको नेताको लागि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।