Logo

६ पुष, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा रहेको एस बाबा प्रिन्टिङ्गमा गएराती आगोलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।

गए राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योगमा रहेको मेसिन, कच्चा सामग्री र तयारी माल जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले जानकारी दिए । चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेका कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्णरुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमा समेत क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार बिहान ६ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन पर्सा, बाराका ११ वटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।

पर्साको वीरगञ्ज महानगरपालिकाका २ वटा, पोखरिया नगरपालिका, विपद व्यवस्थापन गुल्म र सखुवाप्रसौनी नगरपालिकाबाट आएका वारुण यन्त्रले आगो निभाउन नसकेपछि बाराको कलैया, जीतपुरसिमरा उपमहानगरपालिका र देवताल गाउँपालिकाबाट समेत वारुणयन्त्र झिकाइएको थियो । वारुण यन्त्रसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा खटिएका थिए ।

विद्युत सर्ट भई आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले विद्युत सर्ट भएर आगोलागेको हुन सक्ने प्रारम्भीक अवस्था हेर्दा देखिएतापनि कसरी आगलागी भएको हो यकिन हुन नसकेको बताए । उनले आगोलागीबाट उद्योगमा कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।

‘स्टाफले साढे ११ बजेतिर फोन गरेर हामीलाई आगलागीको बारेमा जानकारी गराएका थिए,’ चौरसियाले भने ‘वीरगञ्जबाट उद्योग पुग्दा आगो नियन्त्रण बाहिर गइसकेको थियो । उद्योग पूरै ध्वस्त भइसकेको छ ।’ उनका अनुसार आगलागीबाट झण्डै १३ करोडको क्षति भएको अनुमान गरिएको छ ।


सम्बन्धित समाचार