Logo

६ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शहरको सौन्दर्यको लागि पोलमा टांगिएका तार हटाउन सेवा प्रदायक कम्पनीलाई दिएको अल्टिमेटमलाई बार्गेनिङको रुपमा प्रयोग गरेको हुन सक्ने आशंका स्थानीयले व्यक्त गर्न थालेका छन् ।

विद्युत पोलमा गुजुल्टो पारेर राखिएको अव्यवस्थित तारका कारण वीरगञ्ज शहर कुरुप देखिने गरेको छ । केवल, इन्टरनेट तथा टेलिफोनका तार विद्युतको पोलमा गुजुल्टिएको देख्न सकिन्छ । बेला बेलामा विद्युत सर्ट भई पोलमा गुजुल्टो परेको तार जल्छ । लामो समय विद्युत, इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्छन् ।

बिजुलीका पोलमा तार बेरिएको दृश्य वीरगञ्ज बासीका लागि सामान्य बनिसकेको छ । विजुलीको तार, इन्टरनेटको तार, टेलिफोनको तार, केवल टिभीको तार । विद्युतको पोलमा तारै तार देख्न सकिन्छ । कतै तार सडक छेउको रुखमा अल्झिएको देखिन्छ त कतै चुडिएर भूँईमा लत्रिएको पनि हुन्छ ।

यस्तो कुरुप दृश्यले आर्थिक नगरी वीरगञ्जको खिल्ली उडाइरहेको छ । विद्युत प्राधिकरण र वीरगञ्ज महानगरपालिका मुक दर्शक बनेका छन् । केहिदिन अघि महानगरले विद्युतको पोलमा अव्यवस्थित रुपमा टाँगिएको तार व्यवस्थापन गर्न सुरु गरेको पनि हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहितको टोलीले अव्यवस्थित तार हटाउने भनिएको थियो । तर त्यो दुई दिन भन्दा बढी चल्न सकेन ।

महानगरले मंसिर १५ गते नै सूचना जारी गरेर अव्यवस्थित तार व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम दिएको थियो । सूचना जारी गर्न अघि देखिएको महानगर काम गर्न पछि परेको हो कि भन्ने चिन्ता सर्वसाधरणले व्यक्त गर्न थालेका छन् ।

जथाभावी टांगिएका तारका कारण एकातिर नगरको सौन्दर्यता विग्रिनुका साथै अर्कोतिर दुर्घटनाको जोखिम छ । सेवाप्रदायकलाई साथमा लिएर अनावश्यक तार काट्न सुरु गरिएको भन्दै प्रचार गर्ने महानगरले तार हटाउने कार्यलाई निरन्तरता दिनु नै उचित देखिन्छ ।


सम्बन्धित समाचार