Logo

८ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत खपत गर्ने नगरबासीको महशुल तिरिदिने भएको छ । त्यसका लागि महानगरले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग छुट्टाछुट्टै सम्झौतापत्रमा आज हस्ताक्षर गरेको हो ।

महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र प्राधिकरणको तर्फबाट वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झा र सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल सरकारले २० युनिट सम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको बिद्युत महशुलमा शत प्रतिशत छुट दिने निर्णय गरेको छ । महानगरपालिकाले जम्म १० युनिटको प्रतियुनिट ६ रुपियाँ ५० पैसाको दरले ६५ रुपियाँ र न्यूनतम शूल्क ५० रुपियाँ गरि प्रति परिवार ११५ रुपियाँका दरले मासिक शुल्क विद्युत प्राधिकरणलाई बुझाउने छ ।

मेयर राजेशमान सिंहले सपथ लिए लगत्तै महानगर क्षेत्रमा घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ गतेदेखि महानगरपालिकाले व्यहोर्ने निर्णय गरेका थिए ।

महानगरपालिकाको पहिलो बोर्ड बैठकले पनि मेयर सिंहले गरेको प्रतिवद्धतालाई पुरा गर्न ३० युनिट सम्मको विद्युत निशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । महानगरपालिकाले २०७९ साउन १ गते देखि भनेतापनि प्राविधिक विषय मिलाउन समय लागेकोले ढिलो भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए । उनले भुक्तानीको प्रकृया र तथ्यांक संकलनमा समय लागेकोले बोर्ड निर्णय गरेको भन्दा ५ महिना पछि मात्र कार्यान्वयन गर्ने अवस्था आएको बताए ।

वीरगञ्ज महानगरपालिकामा आज बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सम्झौता पुस १ गतेदेखि लागु हुने जानकारी गराईएको छ । सम्झौता पत्रमा महशुल भुक्तानीका लागि नेपाल विद्युत प्राधिकरणको खातामा महानगरले अग्रिम भुक्तानी गर्ने र प्राधिकरणले हरेक महिना रिबेट सहित फछ्र्यौट गर्ने उल्लेख छ ।

सुविधा प्राप्त गर्न लक्षित ग्राहकहरुले सम्झौता लागु हुनु पूर्वको बक्यौता विद्युत महशुल भने भुक्तानी गरेको हुनुपर्ने शर्त राखिएको छ । यो योजनाबाट दुवै वितरण केन्द्र मार्फत सेवा लिईरहेका ७ हजार ८ सय २२ जना लाभग्राही र ४ सय ३८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुने अनुमान गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले विद्युत उपयोग गर्नेले कति युनिट सम्म प्रयोग गर्छन त्यसको तथ्यांक यकिन हुन नसक्दा सम्झौता पत्रमा यकिन प्रयोगकर्ताको संख्या उल्लेख गर्न नसकिएको बताए । उनले वीरगञ्ज र सिमरा वितरण केन्द्रमा गरी घरेलु तथा कृषि प्रयोगमा हुने विद्युत महशुल मासिक ८ देखि १० लाख महानगरले व्यर्होन पर्न सक्ने बताए ।

चालु आर्थिक बर्षको बजेटमा बिद्युत प्राधिकरणलाई बुझाउने रकम व्यवस्था गरिएकोले महानगरपालिकाले नियमित रुपमा ३० युनिट सम्मको ग्राहकको रकम भुक्तानी गरिदिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । वीरगञ्ज महानगरपालिकालाई न्यूनतम विद्युत शुल्कमा बार्षिक १ करोड २० लाख खर्च हुने अनुमान गरिएको पौडेलको भनाई छ ।

वीरगञ्जका मेयर राजेशमानले सपथ लिए लगत्तै गरेको बाचा पुरा गरेनन् भनेर रेस खवरमा केही दिन अघिमात्र समाचार प्रकाशन भएको थियो ।

https://racekhabar.com/2022/12/17/3770/


सम्बन्धित समाचार