Logo

८ पुस, वीरगञ्ज । भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पछिलो पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा दैनिक गहुँ भित्रिएको भए पनि बुधबार भारत सरकारले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । भारतले गहुँ निर्यात बन्द गर्दा गहुँको मूल्य नेपाली बजारमा ३० देखि ४० प्रतिशतसम्म बढेको थियो ।
भारतमै उत्पादन भएको गहुँ चोरी बाटोबाट भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए ।

नेपाली पक्षको आग्रहपछि मात्र भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो ।

भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउनसमेत भनेको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महङ्गो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट प्रति किलो ५० देखी ५१ रुपैयामा गहुँ किन्न बाध्य भएका थिए ।

 


सम्बन्धित समाचार