Logo

८ पुष ,वीरगन्ज । देशैभर मौसम बदली भएको छ ।बाक्लो हुस्सु र शीतलहरीका कारण पर्सा,बारा,सर्लाही लगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मङ्सिर अन्तिम सातादेखि पर्सा,बारा,सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । वीरगन्ज लगायत तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ ।

पर्सा,बारा,सर्लाही लगायत तराईमा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको वीरगन्जको नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । चिकित्सकले चिसोबाट बच्न काम विशेष बाहेक घर बाहिर ननिस्कन, झोलिलो खानेकुरा पर्याप्त खान, न्यानो कपडा लगाउन सुझाव दिएका छन् ।

चिसोबाट जोगाउन कुनै पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । चिसो छल्नका लागि स्थानीयहरु घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन् । मौसमविद्का अनुसार पर्सि फेरि मौसममा सुधार आउने सम्भावना रहेको छ ।

 


सम्बन्धित समाचार