Logo

तश्विर : गंगा तिवारी

८ पुस, चितवन । चितवनको नारायणगढ क्षेत्रमा राजमार्ग अतिक्रमण गरेर बनाइएका घर शुक्रवार बिहान देखि सडक डिभिजन कार्यालयले भत्काउन शुरु गरेपछि शुक्रबार दिनभर बजार क्षेत्र तानव ग्रस्त रह्यो ।

राजमार्गसँग जोडिएका भवनमा रहेका व्यापारी प्रयोजनका भवनहरु, बैकं तथा वित्तिय क्षेत्रका अफिसहरु, मेडिकल पसल र सुुनचाँदीका पसलमा समेत डोजर चल्न थालेपछि व्यापारीमा भागदौड मच्चिएको थियो ।

नारायणगढ गोन्द्राङ्ग सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सिमा क्लियर गरिदिन दवाव दिएपछि डिभिजनले सडक मिचेर बनेका संरचना भत्काउन शुरु गरेको हो ।

शुक्रवार बिहान झण्डै ८ बजेतिर नारायणगढको पूल्चोकमा कैलाश आयल पेट्रोप पम्प नजिकैबाट सडक सिमा मिचेर बनाइएका संरचना भत्काउन थालेपछि केही बेर व्यवसायी र घरधनीले अवरोध गर्न खोजेका थिए । तर सडक डिभिजन कार्यालयले लामो समय देखि पटक पटक सूचना गरेको तर सूचनालाई अवज्ञा गरेकोले भत्काउन बाध्य भएको भन्दै डोजर चलाएको थियो ।

केही सयम अवरोध गर्न खोजेपनि सडक डिभिजन कार्यालयले भत्काउने अडान लिएपछि घरधनी चुपलागेर बसेका थिए ।

भरतपुरको गोद्रयांग देखि राजमार्ग विस्तारको काम शुरु भएकोमा नारायगढमा पुगेर रोकिएको थियो । राजमार्ग निर्माण गर्ने ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दवाव परेको थियो । त्यसैले सडकको राइट अफ वे भित्र पर्ने संरचना भत्काइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

नारायणगढका व्यापारी र घरधनी भने डिभिजनको सूचना र आग्रहलाई केही जस्तैं नठानेर बसेका थिए । शुक्रबार डिभिजनले नारायणगढ बजारको पूल्चोकदेखि लायन्सचोकसम्म दक्षिणतर्फ सडक मिचेर बनेका संरचनामा डोजर चलाएर सकेको छ । डोजरले भत्काएको घरहरु खण्डहर जस्तो देखिएका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले शुक्रवारदेखि अतिक्रमण गरेर बनेका संरचना भत्काउन भन्दैं थालिएको अभियान नरोकिने बताए । उनका अनुसार शनिवार विहान सडकको उत्तरतर्फ सडक सिमा मिचेर बनेका संरचनाहरूमा डोजर चल्नेछ ।

डिभिजनले डोजर चलाउने भएपछि कतिपय घरधनीले शुक्रवारबाट नै आफ्ना संरचनाहरु भत्काउन थालेका छन् । डिभिजनले सडकको मध्यबाट दुवैतर्फ २५/२५ मिटर आफ्नो राइट अफ वे भनेको जनाएको छ ।

‘गत कार्तिक २४ गते र त्यसअघि पनि ३३ महिनामा सूचना जारी गरेर ५० मिटर भित्र बनेका संरचना भत्काउन भनेकै हौं, छलफल पनि गरेकै थियौँ तर उहाँहरुले अट्टेरी गरेपछि बाध्य भएर डोजर चलाएको हो’ सूचना अधिकारी साहले भने, ‘महानगरपालिका, उद्योग वाणिज्य संघ, सम्वन्धित ब्यक्तिहरुलाई बोलाएर कुरा बुझाएर पठाएका थियौं, तर उहाँहरुले अहिले सल्लाह भएन भनेको सुनेको छु जुन गलत छ । आफैंले भत्काउनुस् भन्दा नमाने पछि डोजरले नै भत्काउने हो, त्यो फिता लगाएर नापेजस्तो हुँदैन ।’

उनले अबको १२ दिन भित्र नारायणगढ क्षेत्रमा सडक क्षेत्र मिचेर बनेका सबै संरचना भत्काएर क्लियर गरेर ठेकेदारलाई काम गर्न सहज बनाइने बताए । बजार क्षेत्रमा ५८ वटा घर टहराको अगाडिको संरचना भत्काउने योजना सडकको छ ।

सूचना अधिकारी साहले शुक्रवार कति भत्किए भन्ने रेकर्ड लिन बाँकी रहेको भन्दै। शनिवार भत्काएपछि एकीन विवरण आउने बताए । ‘धेरै जसो घर धनीले सडकको राइट वे मिचेर टफ निकाल्नुभएको छ, हामाीले धेरैजसो त्यही भत्काएका हौँ’ सूचना अधिकारी साहले भने, ‘अब उहाँहरुको घरको भत्काएको टफ नजिकै विद्युतका पोलहरु बस्नछन् र सडक फराकिलो बन्छ ।’

नारायणगढ बजार क्षेत्रका घरहरु भत्काएकोमा घरधनी तथा व्यवसायीहरुले आपत्ती जनाएका छन् । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले घरहरुको पेटी भत्काउने सहमती भए पनि घर नै भत्काउने काम गरेर सडक डिभिजनले जनताको सम्पतीमा क्षति गरेको बताए ।

‘हामीले सडकपेटीसम्म भत्काउन र बाँकी संरचना घरधनी आफैंले भत्काउने भनेका थियौं, तर उहाँहरुले एक्कासी डोजर लिएर आउनुभयो, संघका अध्यक्ष श्रेष्ठले भने, आर्थिक संकट र मन्दी लागेको बेलामा झनै घरधनी र व्यापारी माथि मर्का पारियो । ’

उनले यसले बजार क्षेत्रमा ठूलो क्षति गर्ने र बजारलाई कुरुप बनाउने काम गरेको गुनासो गरे । नारायणगढका घरधनी दिनेश चुकेले भरतपुर महानगरपालिकाले नक्सापास गरेर दिएको जग्गा बनेका घर भत्काउने काम डिभिजनले गरेको भन्दैं आपत्ति जनाए ।

उनले घरधनी, व्‍यापारीसमेतको उपस्थितीमा सडकको नापजाँच गरेर मात्रै घर भत्काउनुपर्ने बताए ।

‘हामीले घर नाप्दा २५ मिटरभन्दा पर नै बनाएको देखेका छौं, सडक डिभिजनले २५ मिटर भित्र बनेको भन्छ’ चुकेले भने, ‘सँगसँगै बसेर सल्लाहले नापजाँच गरे हुन्न ?’ उनले सडक डिभिजनले घर भत्काएको विषयमा आफूहरु अदालत जाने बताए ।


सम्बन्धित समाचार