Logo

१० पुष, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले चार दलको सयुक्त बैठक बसेको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठन गर्ने रणनीतिका साथ बैठक बसेको हो ।

नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्डा नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको छ । नेकपा एमालेले माओवादी केन्द्रसहित अन्य दलहरुसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको हो।

बालकोटमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, रास्वपाका अध्यक्ष लामिछाने र जसपाका नेता राईसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

हाल प्रतिनिधिसभा २७३ मा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेस (८९) लाई बाहिर राखेर एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २० र राष्ट्रिय प्रजातन्त्र पार्टी १४ मिल्दा १४४ सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।


सम्बन्धित समाचार