१३ पुष ,वीरगन्ज । जीतपुर सिमरा उपमहानगरपालिकाले सम्पत्ति कर नबुझाएका उद्योग तथा व्यवसायीहरुलाई सम्पत्ति कर बुझाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्पत्ति कर नबुझाएका महानगरपालिका भित्रका ५९ उद्योग तथा व्यावसायीलाई सम्पत्ति कर बुझाउन पत्राचार गरेको हो ।
उपमहानगरपालिका अन्तर्गत उद्योग तथा पसल भवनहरुको अभिलेखीकरण भई संचालित, निर्मित उद्योग कलकारखाना, व्यावसायीहरुले स्थानीय सरकार सञ्चालन ऐन २९७४ को दफा ५५ तथा उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ को दफा २ को अनुसूची १ अनुसार उपमहानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर (घर–जग्गा कर) बुझाउन भनेको हो ।
उपमहानगरपालिकाले सम्पत्ति कर पुस मसान्त सम्ममा बुझाउने करदाताहरुलाई पाँच प्रतिशतको कर छुट दिने र तोकिएको मितिमा नबुझाएकाहरुलाई भने १० प्रतिशत जरिवाना लाग्ने नगर प्रमुख राजन पौडेलले बताउनुभयो ।
उपमहानगरपालिकाले घरजग्गा कर तिर्न करदाताहरुलाई सहुलियत स्वरुप पाँच प्रतिशतको छुट व्यावस्था गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।