Logo

१५ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कार्यालयबाट भए गरेका कार्य सम्पादनको बिषयमा सूचना माग गर्ने व्यक्तिहरुलाई धम्काउने गरेको रहस्य खुलेको छ ।

वीरगञ्ज महानगरपालिकासँग सूचना माग गरेका सेवाग्राही वीरगञ्ज छपकैयाका नुरनबी ठकुराईलाई महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले अपशब्द प्रयोग गर्दै धम्काएको अडियो बाहिर आएको छ ।

उनले वीरगञ्ज महानगरपालिकाले कार्यसम्पादन गरेको बिषयमा सूचनाको हक प्रयोगगरी सूचना नमाग्न ठकुराईलाई धम्काएको छपकैया निवासी नुरेनबि ठकुराईले रेसखवरलाई बताए ।

ठकुराईले २०७९ पुष १३ गते वीरगञ्ज महानगरपालिकामा सूचनाको हक प्रयोगगरी २०७९ जेठ १५ गते देखि मंसिर मसान्त सम्म विकास निर्माणको काममा उपभोक्ता समितिबाट भएको स्टीमेट, सम्झौता पत्र र भुक्तानी भएको अवस्थामा कुन उपभोक्ताको नाउँमा कति रकमको चेक कसरी उपलब्ध गराईएको छ, त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी सूचना माग गरेका थिए ।

ठकुराईले अघिल्लो आर्थिक बर्षमा विभिन्न उपभोक्ता समिति मार्फत आफूले गरेको निर्माण सम्पन्न भएकोे कामको भूक्तानी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले राजनीतिक पूर्वाग्रहराखी रोकेको र पटक–पटक भूक्तानीको लागि ताकेदा गर्दा प्रमुख प्रशासकिय अधिकृत पौडेलले मेयरसँग मिल्न र सम्झौता गरेर अगाडी बढन दवाव दिएको बताए ।

मलाई प्रमुख प्रशासकिय अधिकृत पौडेलले मेयरसँग मिलेर हिड्ने प्रतिवद्धता नजनाएसम्म भुक्तानी पाउँन गाह्रो हुन्छ भने, उनको भनाई थियो “मैले निर्माण सम्पन्न गरेको कामको भुक्तानी के कति कारणबाट रोकिन गएको हो, त्यसको जानकारी माग्दा बढता नहुन र सूचना लिखित रुपमा मागे अप्ठारो परिस्थितीको सामना गर्नुपर्ने धम्की दिए ।”

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडलले पूर्व मेयर विजय कुमार सरावगी र जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार सरार्फलाई समेत अपशब्द प्रयोग गरेका थिए । उनले अपशब्द प्रयोग गरेको अडियो समेत बाहिर आएको छ ।

नुरेनबी ठकुराईले वीरगञ्ज महानगरपालिकाले निर्वाचनको मिति घोषणा भएपछि नियुक्त गरेका कर्मचारीको विवरण, कर्मचारी नियुक्त गर्ने नगरसभाको निर्णय, कति कर्मचारी कुन पदमा कति समयको लागि नियुक्ती गरिएको हो, नियुक्ती कुन प्रकृयाबाट भएको हो र हाल कति कर्मचारी किन निष्कासन गरिएको हो त्यसकोे विवरण उपलब्ध गराउन सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार पुष १३ गते सूचना माग गरेका छन् ।

 

उनले वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले स्वकिय सचिव लगायत सचिवालयमा कति कर्मचारी कुन पदमा कति सुविधा दिने गरि नियुक्त गरेका छन् र सल्लाहाकार पदमा कति जनालाई कुन सुबिधा दिने गरी नियुक्त गरिएको हो त्यसको विधि प्रकृया कसरी अप्नाइएको हो त्यस बिषयमा समेत सूचना दिन माग गरेका छन् ।

यस अघि वीरगञ्ज महानगरपालिका वडा नं. ३ का पूर्व वडा अध्यक्ष अनवर हुसैनले सूचनाको हकको माग राखी गत मंसिर १३ गते दिएको निवेदन महानगरपालिकाले थन्काएर राखेको छ । उनले स्वीमिङपुलको बाकी बक्यौता कति छ ? पटके सवारी करका ठेकदार जयप्रकाश कोइरीको नाउँमा कति बक्यौता छ ? मेयरको सचिवालयमा कति खाजा, नास्तामा खर्च भएको छ सो को बिवरण समेत माग राखेका थिए ।

कनुनतः सूचनाको हक राखेर कुनै व्यक्तिले सूचना माग गरेमा १५ दिन भित्रमा सूचना दिनु पर्नेे कानुनी व्यवस्थालाई चुनौती दिदै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सूचना नदिएको पूर्व वडा अध्यक्ष हुसैनले बताए ।

वीरगञ्ज महानगरपालिकाको काम कार्वाही पारदर्शी नभएकोले सूचना दिन नमानेको सेवाग्राहीको आरोप छ । मेयर राजेशमान सिंह आएपछि महानगरपालिकाको काम कार्वाही पारदर्शी नभएको र कर्मचारीलाई समेत धम्काएर काम लगाउने गरेको आरोप उनीहरुको छ । मेयरको डरले कर्मचारीले समेत सुचना दिन नमान्ने हुसैनको भनाई छ ।

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले उपभोक्ता समिति मार्फत भएका कामको रकम नरोकेको बताए । उनले नुरे नबी ठकुराईको बिषय राजनीतिक भएको र यो मेयरसँग प्रत्यक्ष जोडिएको बिषय भएकोले आफूले यसको जवाफ नदिने उनको भनाई छ ।

उनले महानगरपालिकाले कुनै सूचना लुकाउनु नपर्ने भएकोले कसैले पनि सूचनाको हक सम्वन्धी ऐन प्रयोग गरी सूचना मागेको खण्डमा सूचना अधिकारी मार्फत सुचना दिने गरेको बताए । पूर्व वडा अध्यक्ष अनवर हुसैनले मागेको सुचना उनले पाएको वा नपाएको बिषयमा आफूलाई जानकारी नभएको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाई छ ।

वीरगञ्ज महानगपालिका भित्र मौलाउदै गएको धाकधम्की र अपारदर्शी कामकार्वाही प्रति निगरानी राख्न अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी गरेका ठकुराईले बताए । मेयरमा निर्वाचित हुने बित्तिकै राजेशमान सिंहले आफूले कुनै कानुन नमान्ने र कुनै कानुनले आफूलाई नछुने बताएको र अहिले सम्म गैरकानुनी काममा समेत कसैले सार्वजनिक रुपमा प्रश्न नउठानु दुःखको बिषय भएको नुरेनबी ठकुराईको भनाई छ ।


सम्बन्धित समाचार