Logo

महानगरपालिकाले सवारी साधन प्रवेश गर्न रोक लगाएको गहवामाई मन्दिर परिसरमा महानगरपालिकाको गाडीबाट खाद्यान्न ढुवानी गरिदै

१५ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सर्वसाधारणको लागि मोटरसाइकल समेत प्रतिवन्ध लगाएको गहवामाई मन्दिर परिसरमा सरकारी प्लेटको गाडीबाट पिकनीकको सामान खरिद गरेको बिषय सामाजिक सञ्जालमा छाएको छ ।

वीरगञ्ज महानगरपालिकाले मन्दिर परिसरको सौन्दर्यता कायम गर्ने भनि सवै प्रकारका सवारी साधनलाई मन्दिर परिसर आसपासको सडकमा लैजान प्रतिबन्ध लगाएको छ । सरकारले सार्वजनिक विदा दिएको दिन शुक्रबार महानगरपालिकाको ना १ झ १५९७ नम्बरको सरकारी गाडी प्रतिबन्धित क्षेत्रमा प्रवेश गराई खाद्यान्न सामान ढुवानी गरेको तश्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुब शाहले सामाजिक सञ्जाल फेसबुकमा सर्वसाधारणका सवारी साधनलाई रोक लगाउने तर महानगरपालिकाको गाडी प्रवेश गराउन कसले दियो छुट भनेर प्रश्न उठाएका छन् ।

वीरगञ्ज महानगरपालिकाका कर्मचारी भोली पिकनिक खान जाने तयारीमा रहेको र बनभोजमा चाहिने खाद्यान्न सामाग्री खरिदका लागि उक्त गाडी प्रयोग भएको बिषय सामाजिक सञ्जालमा राखिएको छ ।

सरकारले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालन गर्न स्थानीय प्रशासनको अनुमति चाहिने भएपनि बिदाको दिन समेत वीरगञ्ज महानगरपालिकाको सवारीसाधन दुरुपयोग गरिएको कुरा सामाजिक सञ्जालमा उठाइएको छ ।

महानगरपालिकाले सवारी साधन प्रवेश गर्न रोक लगाएको गहवामाई मन्दिर परिसरमा महानगरपालिकाको गाडीबाट खाद्यान्न ढुवानी गरिदै


सम्बन्धित समाचार