Logo

१८ पुष, वीरगञ्ज । किशोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा फरार रहेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले प्रहरीमा आत्मसमर्पण गरेका छन् । हिजो बेलुका श्रेष्ठ स्वयं प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिनुभयो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीका अभिभावकले गत असोज २५ गते इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

दशैंको टीकाको दिन असोज १९ गते वडा अध्यक्ष राजुले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गम्भीर प्रकृतिको फौजदारी अभियोगमा मुद्दा परेलगत्तै उनी फरार भएका हुन् । बारा जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

प्रहरीले विशेष टोली परिचालन गरि खोजी भइरहेको बताए पनि उनलाई पक्राउ गर्न सकेको थिएन । बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले कात्तिक ७ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने निजगढमा प्रदर्शन समेत गरेका थिए ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले प्रहरीले खोजतलास जारी राखेको बेला श्रेष्ठ आफैं प्रहरी कार्यालयमा आएको बताउनुभयो । श्रेष्ठलाई बारा जिल्ला अदालतबाट आज म्याद थप गर्ने र बयान लिने लगायतका अन्य अनुसन्धानका कार्यहरु शुरु गर्ने निरीक्षक ओलीले बताउनुभयो ।


सम्बन्धित समाचार