Logo

१९ पुष, वीरगञ्ज । क्या गजब ५ रुपियाँमा खाना, ५ रुपियाँमा मिनिरल वाटर र ५ रुपियाँमा कपडा ? हरेक दिन यस्तै दाता भेटिए कुनै दिन भोकै बस्नु पर्ने थिएन होला । ठेला चालक साधुरामले ५/५ रुपियाँ दिएर खानाको प्याकेट र मिनिरल वाटर लिए, नजिकैको विपि उद्यान अगाडीको सडक पेटीको एउटा छेउमा बसेर खाना खादै थिए ।

उनी हरेक सोमबार स्वयंसेवी संस्था फोरजीआरले ५ रुपैंया अभियानमा खाना खुवाउने ठाउँमा पुग्छन र ५ रुपियाँमा खान किनेर खान्छन् । वीरगञ्जमा स्वयंसेवी रुपमा क्रियाशिल व्यक्तिहरुले संचालन गरेको फोरजीआर संस्थाले ‘घरको खाना सबैको चाहना’ भन्ने नारा सहित हरेक साताको एक दिन सोमबार ५ रुपैंया मै खाना खुवाउने अभियान संचालन गर्दै आएको छ ।

यो अभियानलाई निरन्तरता दिदै हिजो सोमबार २२ औं सप्ताह खाना र कपडा विपतरण गरिएको छ । घण्टाघरको छेउमा रहेको विपी उद्यान अगाडि स्टल राखेर खाना र कपडा वितरण गरेको हो । कसैको सम्मानमा ठेस नपु¥याइ भोक मार्ने र कपडा लगाउने उद्देश्य सहित अभियानलाई निरन्तरता दिइएको हो ।

तैयारी खाना, पानीको बोतल र कपडा स्टलमा राखेको केहीबेरमा सकिने गरेको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले जानकारी गराउनुभयो । संस्थाका सदस्यहरू तथा सहयोगी हातहरुले आ–आफ्नै घरबाट खाना बनाएर ल्याउने गरेका छन् ।

यस हप्ता व्यवसायी राजेश अग्रवालको घरमा बच्चाको जन्म भएको खुशीयालीमा एकसय प्याकेट तयारी खानाको डब्बा संस्थालाई उपलब्ध गराउनु भएको थियो । न्यून शुल्कमा खाना र पिउने पानी उपलब्ध गराउदै आएको संस्थाले कपड़ा बैंक आदर्शनगरको सहयोगमा पाँच रुपैया मै कपडा पनि उपलब्ध गराउन थालेको छ ।

समपर्ण सेवा संस्थाले निशुल्क उपलब्ध गराएको भवनमा सेवा दिदै आएको संस्थाले हिजो वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको विशेष उपस्थितिमा खाना र कपडा वितरण गरेको थियो । कार्यक्रममा कृष्ण कुशवाहा, अफसाना खान, सोनी अग्रवाल र अनिशकान्त कुशवाहा समेतको उपस्थिति रहेको संस्थाकी नुतन सरावगीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार