Logo

१९ पुष,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुलाई लिखित निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित छलफलमा प्रचण्डले सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिएका हुन् ।

उनलेले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

निर्देशनमा भनिएको छ, ”सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्था आउनेछ।”

यस्ता सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।सरकारी सेवा सुधार र सहजता बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डले सरकार सबै सचिवहरूसँग दुई दिने छलफल कार्यक्रम राखेका थिए ।

पहिलो दिन सोमबार २० सचिवले प्रधानमन्त्रीलाई मन्त्रालयगत रिपोर्टिङ गरेका थिए । बाँकी सचिवहरूले आज आफ्ना धारणा राखेका थिए । सबै सचिवहरूको धारणा सुनेपछि प्रचण्डले आज लिखित सम्बोधन गरेका हुन् ।


सम्बन्धित समाचार