Logo

१९ पुष, वीरगञ्ज । भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ। गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो। महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ।

आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ। सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको महानगर प्रमुख रेनु दाहालले बतानुभयो।

स्थानीय तहमा पहिलोपटक महानगरले यो कार्यक्रम ल्याएको हो। यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उहाँको भनाइ छ।

आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ। महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलका अनुसार गत आवबाट सहयोग दिन थालिएको हो। ती परिवारलाई मासिक रु दुई हजारका दरले सहयोग दिने गरी कार्यविधि बनेको छ।

गत वर्ष १३ बेपत्ता परिवार र ४७ सहिद परिवारले सहयोग लिएको थियो। यसरी सहयोग लिनेमा सशस्त्र द्वन्द्वमा परेका माओवादी, नेपाल प्रहरी, नेपाली सेनाका परिवार रहेको उहाँले जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार