Logo

२० पुष, वीरगञ्ज । नेपाल प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको ३ गोदाममा छापा मारेर भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ । खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो ।

ती गोदामबाट भन्सार छली गरे ल्याईएका २० र २४ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको उहाँले बताउनुभयो ।

कतरनी, जिरामसिनो र बासमति चामल बरामद भएको उहाँको भनाई छ । बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ । वीरगञ्जको मुख्य सडकमै साइकलमा दुई, तीन बोरा चामल, आलु बोकेर ल्याउने गरेको दृश्य देख्न सकिन्छ ।

खुला सीमाको दुरुपयोग गर्दै व्यापारीहरुले साइकल, मोटरसाइकलमा थोरै–थोरै परिमाणमा सिमावर्ती भारतीय बजार रक्सौलबाट खाद्यान्न लगायतका सामग्री दिनहुँ भित्राउने गरेका छन् ।

नेपालमा भन्दा कम मूल्यमा भारतीय बजारमा पाइने खाद्यान्न, लत्ता कपडा, औषधीजन्य सामग्री, इलेक्ट्रिक सामान, मोटरका पाटपुर्जाहरु भन्सार छलेर भित्राउने गरिन्छ । तस्करीको माध्यमबाट सामान ल्याउँदा भन्सार राजश्व पनि छलिने हुँदा व्यापारीले ती सामान बिक्रीबाट बढी मुनाफा आर्जन गर्छन् ।

 


सम्बन्धित समाचार