Logo

सीमा क्षेत्रमा प्रहरीले पैसा लिएर साइकलमा चामल चोरी पैठारी गर्नेलाई छोडदै गरेको अवस्था तस्विर : विशाल पटेल

२० पुष, वीरगञ्ज । पर्सा प्रहरीले केही दिन देखि वीरगञ्ज बजारमा छापामारी गर्ने अभियान संचालन गरेको छ । भारतबाट चोरी मार्ग हुदै ल्याइएको चामलका गोदाममा प्रहरीले छापामारी नियन्त्रणमा लिएको खाद्यान्न सामाग्री भंसार पठाउने गरेको छ ।

प्रहरीले भंसार छलीगरेर गोदाममा राखेको र ब्यापारीले बिलविजक दिन नसकेको भनेर बरामद गरेको खाद्यान्न भंसार कार्यालयमा मूल्यांकन गरेर पठाउने गरेको छ । प्रहरीले छापामारीमा स्थानीय प्रशासन, स्थानीय निकाय र उद्योग बाणिज्य संघलाई समेत जानकारी नदिई गोदामबाट माल नियन्त्रणमा लिने गरेको छ ।

सरकारले सीमा क्षेत्रबाट हुने चोरी तश्करी, अवैध कारोवार तथा सीमा सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरेको छ । सीमामा बसेको प्रहरीले अबैध कारोबारमा संलग्न व्यक्तिसँग रकम लिएर सीमा क्षेत्रबाट साइकल, मोटरसाइकल र पैदल खाद्यान्न बोकेर ल्याउनेलाई छुट दिने गरेको देखिन्छ । बोकेर ल्याउने व्यक्तिसँग प्रतिबोरा २० रुपियाँ प्रहरीले लिने गरेको भनाई रक्सौलबाट साइकलमा खाद्यान्न ढुवानी गर्नेहरुको छ ।

भंसार चोरी पैठारी नियन्त्रण गर्न सीमा क्षेत्रमा खटिएको प्रहरीले रकम असुल्छ र सामान छोड्छ अर्कोतर्फ त्यही प्रहरीले व्यापारीको गोदामा छापामारी गर्छ र भंसार चोरी पैठारी गरी ल्याएको चामल बरामद गरेको भनि भंसार कार्यालय पठाउछ । तश्करी गराउन प्रोत्साहन पनि गर्ने र तश्करी भएर आएको सामान छापामारेर बहादुरी देखाउने काम प्रहरीबाट भएको देखिन्छ । यसमा सीमा क्षेत्रबाट चोरी पैठारी नियन्त्रणमा किन सुरक्षा निकाय चुक्दैछ ? यसको जबाफ कसले दिने ?

वीरगञ्जमा भन्दा भारतीय बजार रक्सौलमा खाद्यान्न सामाग्री सस्तोमा पाइने भएकोले वीरगञ्जका अधिकांश मानिसहरु चामल, दाल, चिनी लगायत खाद्यान्न सामाग्री किन्न रक्सौल जाने गर्दछन् । वीरगञ्जका केही व्यापारीहरुले सीमा क्षेत्रमा खटिने प्रहरीलाई मिलाए साइकल, मोटरसाइकलमा खाद्यान्न रक्सौलबाट ल्याई महंगोमा बेच्छन् ।

वीरगञ्जको खुला नाका बाहेक मुख्य भंसार कार्यालयको गेट भएर दैनिक सर्यौको संख्यामा अट्टोरिक्सा, साइकल र मोटरसाइकलमा चामल, चिनी, दाल, लसुन, आलु, प्याज, खुसार्नी ढुवानी गरेको देख्न पाइन्छ । यस्तो कार्यमा संलग्न व्यक्तिहरुले प्रहरीलाई पैसा दिएर माससामान अवैध रुपमा वीरगञ्ज बजार सम्म पु¥याउने गरेको कारोबारमा संलग्न व्यापारीहरुको भनाई छ ।

अहिले बजारमा प्रहरीले मात्र छापामारी गरेको छ । प्रहरीले गरेको छापामारीको बारेमा कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । छापामारीका बारेमा धेरै ठाउँबाट फोन आएको छ तर जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी छैन, उनले भने ।

बजारमा प्रहरीले गरेको छापामारीका बारेमा विभिन्न संचारमाध्यमबाट जानकारी पाएको वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ताले बताए । उनले सीमा नाकामा नै चोरी पैठारी नियन्त्रण गर्नुपर्ने हो तर बजारमा छापामारी गर्दा सरोकारबाला पक्षलाई समेत रोहबरमा राख्नुपर्ने चलन थियो तर अहिले प्रहरीले एकलौटी रुपमा छापामारी गरिराखेको बताए ।

वीरगञ्जमा छापामारीबाट पीडित भएका व्यापारीहरुले समेत उद्योग बाणिज्य संघमा कुनै गुनासो नगरेको भनाई संघका अध्यक्ष गुप्ताको छ । उनले बजारमा रहेको सामानमा बिल बिजक भएको हुनेपर्ने बताए । जुन ब्यापारीले गोदाममा सामान राख्छ पक्कै उसको बिलबिजक हुनुपर्छ, संघका अध्यक्ष गुप्ताको भनाई थियो ।

आज बिहान वीरगञ्ज–११ रानीघाटमा रहेको ३ गोदाममा छापा मारेर भन्सार छलीका १३ लाख ६० हजार ८ सय मूल्य बराबरको चामल प्रहरीले बरामद गरेको छ । खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो ।

ती गोदामबाट भन्सार छली गरे ल्याईएका २०, २४ र २६ किलो दरका ९ सय ५ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको छ । कतरनी, जिरामसिनो र बासमति चामल बरामद भएको प्रहरी नायव उपरिक्षक गिरीको भनाई छ ।

बरामद गरिएका चामल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ । नेपालमा भन्दा कम मूल्यमा भारतीय बजारमा पाइने खाद्यान्न, लत्ता कपडा, औषधीजन्य सामग्री, इलेक्ट्रिक सामान, मोटरका पाटपुर्जाहरु भन्सार छलेर भित्राउने गरिन्छ ।

तस्करीको माध्यमबाट सामान ल्याउँदा भन्सार राजश्व पनि छलिने हुँदा व्यापारीले ती सामान बिक्रीबाट बढी मुनाफा आर्जन गर्छन् । यसैबीच पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणको भारतीय चिनी र मैदा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाका बरिष्ठ प्रहरी नायब निरीक्षक बिनोद सिंहको नेतृत्वमा गएको टोलीले चिनी र मैदा बरामद गरेको हो ।

जिराभवानी गाउँ पालिका वडा नम्बर एक बलुवाका स्थानीय गुलबहार मिया तेलिको घरमा छापामारी गरि १३ बोरा चिनी १२ बोरा मैदा बरामद गरेको जनाएको छ । बरामद गरिएको चिनी र मैदा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरि बारा प्रहरीले ५८ हजार मूल्य बराबरको सूर्ती नियन्त्रणमा लिएको छ । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा कटेङगरी मन्दिर नजिकैबाट ५८ किलो सूर्ती नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी मटिअर्वास्थित प्रहरी हवल्दारको कमाण्डमा खटिएका प्रहरीको टोलीले सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदैँ गरेको अवस्थामा सुर्ती नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीको टोली देख्नासाथ मानिसहरु भने फरार भएको र सूर्ति प्रहरी चौकी श्रीनगर बैरियाको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार