Logo

वीरगञ्जका विभिन्न स्थानमा जाडोको कारण सकड पेटीमा आगो बालेर बस्न बाध्य छन जनता तस्विर : विशाल पटेल

२१ पुस, काठमाडौं । केही दिन देखि तराई मधेशका जिल्लामा चलेको शीतलहरले जनजीवन प्रभावित भएको छ । गएको ४ दिन देखि वीरगञ्जमा घाम लागेको छैन । चिसो हावा र शितलहरको कारण दैनिक ज्यालादारी, मजदुरीगरी खाने मानिसहरु अझ प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । जाडोको कारण उद्योग व्यावसाय समेत प्रभावित भएको देखिन्छ ।

मौसमविद् विनु महर्जनका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतलहर चलेको घोषणा गरिन्छ ।

तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो ।

अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक(दुई दिन कायमै रहने पूर्वानुमान गरिएको मौसमविद महर्जनले बताइन् । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पनि दिउँसोको समयमा केही कम हुने उनले बताइन् ।

काठमाडौंमा आजको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो ।

मौसमविदहरुका अनुसार यो वर्षको जाडो भर्खरै सुरु भएको छ । अझै केही दिन जाडो बढ्नसक्ने भएकाले पूर्व सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कमजोर खालको पश्चिमी न्यून चापीय प्रणाली नेपालमा रहेकाले तत्काल हिउँ पर्ने र पानी पर्ने सम्भावना पनि छैन । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा गत वर्षको तुलनामा कम पानी पर्ने प्रक्षेपण गरेको छ ।

पानी नपर्दा वायुमण्डलमा धुलोका कण मिसिएको बाक्लो तुवाँलो लागेको छ । प्रदूषणयुक्त तुवाँलो हट्न पानी पर्नुपर्ने वा वायुको गति बढी हुनुपर्ने हुन्छ । तर यी दुवै सम्भावना अहिले तत्काल नरहेकाले प्रदूषण बढेको छ । त्यसैले मास्क लगाएर मात्र घर बाहिर निस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

वीरगञ्जमा दाउराकाे अभाव भएपछि ग्यारेजमा कामगर्ने मजदुरहरुले पुरानो टायरबालेर आगो ताप्ने गरेका छन् । टायरको घुवाले मानब स्वास्थ्यमा नकरात्म प्रभाब पार्ने भएकोले स्वास्थ्यमा ख्याल राख्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

चिसोबाट बच्ने उपाय

खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने
ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने
तुलसी, अदुवा, महको नियमित सेवन गर्ने
घाम ताप्ने, तेलले मालिस गर्ने
बाक्ला, उनीका लुगा लगाउने
छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने


सम्बन्धित समाचार