Logo

२१ पुष, चितवन। चितवनको भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको छ । उनीहरूले विदेशमा काम गर्दा आर्जन गरेको ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन तथ्याङ्क सङ्कलन थालिएको महानगरपालिकाले जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको महानगरपालिकाका उपसचिव गणेश नेपालीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । पालिकाको माग र आवश्यकताबमोजिम महानगरपालिकामार्फत कार्यक्रम सञ्चालन हुनेछ ।

स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन हुन लागेको उपसचिव नेपालीले बताउनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारबाट फर्केका इच्छुक व्यक्तिले नागरिकता र राहदानीको फोटोकपीसहित निर्देशिकाले तोकेको ढाँचामा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन पेस गर्नुपर्नेछ । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने नगर उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

 


सम्बन्धित समाचार