Logo

२१ पुष, सेढवा, पर्सा । खेतबारीको छेउमा रहेको एउटा रुखको बिचमा मचान छ, त्रिपाले घेरेर बनाइएको मचानमा परालको बिछौना । कठ्याङ्ग्रिदो जाडो, यही मचानमा सुदामा महतो कम्कडले रात बिताउने गरेको धेरै बर्ष भयो ।

जिराभवानी गाउँपालिका वडा नंं. ५ सखुवनीयाका किसान सुदामा महतो कम्कडको हरेक रात यहि मचानमा बित्नेगरेको छ । कठ्याङ्ग्रिदो जाडोमा होस या गर्मीको समयमा उनले यसरीनैे रातभर जागराम बस्ने गरेको धेरै बर्ष भयो, देशमा व्यवस्था फेरियो तर सुदामाका अवस्था उस्तै छ । देशमा तीन तहको सरकार छ तर सुदामाले भोग्नु परेको पीडा कष्टमा कुनै सरकार दृष्टि पुग्न सकेको छैन ।

सुदामा त एउटा प्रतिनिधि पात्र मत्र हुन, चितवन र पर्सा राष्ट्रिय निकुन्जसँग सीमाना जोडिएको बस्तीमा बसोबास गर्दैै आएका अधिकांश किसानको पीडा सुदामाको भन्दा फरक छैन । हरेक सिजनको अन्नबाली जोगाएर भित्र्याउन मुस्किल पर्छ यस क्षेत्रका किसानलाई ।

जंगली जनावरहरुबाट बाली जोगाउन रातभर जाग्राम बस्नु पर्छ सखुवनीयाका किसान सुदामा महतोले भने, “त्रिपालले घेरेको मचानमा कठ्याङ्ग्रिदो जाडोमा रात काट्न मुस्किल छ हजुर ।” जाडोमा ज्यान जोगाउ खोज्यो, जंगली जनावरले बाली नष्ट गरिदिन्छ उनले भने हाम्रो पीडा कसले सुनिदिने ।

जिल्लाको पश्चिमी उतरी क्षेत्रमा रहेका जिराभवानी गाउपालिकाका सखुवनीया, हरैया, काठमाडौंटोल, शान्तिनगर तथा ठोरी गाउपालिकाका क्षेत्रीलाइन, गडुवालाईन लगायतका किसानहरु जंगली जनावरहरुबाट पिडित रहेका छन । त्यस्तै पटेर्वासुगौली गाँउपालिकाका भथौडा, भाथा, रंगपुर, सोनबर्षा , सखुवाप्रसौनी गाँउपालिकामा पर्ने औराहा, छतिवन, अकवनिया लगायतका किसानहरु जंगली जनावरबाट बाली जोगाउन धौ धौ पर्ने हुन्छ ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट आएका हात्ति, गैडा, चितल, हरिण, निलगाई, घोडगद्हा, बदेल, भालू, लगायतका जनावरहरुले किसानको बाली नष्ट गरिदिने गरेको जिराभवानी गाँउपालिका वडा नं ५ हरैया निवासी जलकपूर राउत थारुले बताए ।

दर्जनौको संख्यामा आउने जंगली जनावरहरुले धान, मकै, गहु, आलू, तोरी लगायतका बालीमा क्षति पु¥याउने गरेको थारुले बताए । जंगली जनावरहरुबाट बाली जोगाउन किसानहरुले रुखमा मचान तथा जमिनमै झुपडी बनाई रातभर जागराम बस्ने गरेका छन् ।

किसानहरुले एकले अर्काको आवाज सुन्ने गरी मचान बनाउने गरेकोले जंगली जनावर बस्तीमा पस्ने वित्तिकै चिच्याउने गर्छन् । एकजनाले कराएपछि सबैजना चिच्याउने र टिन बजाउन थाल्छन् । रातको समयमा एकहुल जंगली जनावर अन्नबाली खान बस्तीमा छिर्ने गरेको थारुको भनाई छ ।

एउटा हातमा टचलाईट र अर्को हातमा लौरो लिएर जंगली जनावर लखट्नु पर्दा ज्यान जोखिममा राख्नु पर्ने बाध्यता छ किसानलाई । जंगली हात्ती र भालु खेतमा पसेको समयमा मानिसमाथि नै जाइलाग्ने भएकोले ज्यान जोगाएर भाग्नु पर्ने अवस्था आउँछ सुदमा महतोले भने ।

खेतीपाति नगरे के खाने ? खेतबाली लगायो जोगाउनै मुस्किल छ, जलकपुर राउतले भने, “हाम्रो पुस्ता यसरीनै बित्ने भयो छोरा नातीको पालामा केही हुन्छ की ?” यस क्षेत्रका बासिन्दा साँझ पर्नसाथ खाना र पानी लिएर मचानमा पुग्छन् । हरेक किसानको खेतमा एउटा छाप्रो छ, सबै जना खेतीबाली जोगाउन त्यहीँ छाप्रोमा बास बस्नै पर्ने बाध्यता छ, राउतले भने ।

ठोरी गाउपालिका वडा नं ५ क्षेत्रीलाईन, गडुवालाइन क्षेत्रमा किसानहरुले जंगली जनावरको आंतकबाट छुटकारा पाउन सुर्ती खेती लगाएका थिए तर सुर्ती बालीलाई पनि बाँदरको समूहले क्षति पुर्याउन थाले पछि किसान चिन्तित बनेका छन् ।


सम्बन्धित समाचार