Logo

तस्विर : सशस्त्र प्रहरी वलको मुख्यालय

२२ पुस, वीरगञ्ज । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।

सशस्त्र प्रहरी वलको मुख्यालय हलचोकमा भएको छलफल कार्यक्रममा सीमा मालसामान पैठारी निकासी गर्दा चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल केन्द्रित रहेको सशस्त्र प्रहरी वलको मुख्यालयले जनाएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफुहरु तयार रहेको बताउदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिवद्ध भएकोे धारणा राखेका थिए ।

छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निश्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए ।

उनले सीमा क्षेत्रमा हुने अवैध कार्य रोक्न सीमा ईलाकामा सबै पक्ष समेटेर संयन्त्र बनाई अघि बढ्न सशस्त्र प्रहरी वल तयार गरेको बताए । उनले सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनैपनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाईकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशन समेत दिईएको बताए ।

कार्यक्रममा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने उद्योगी ब्यवसायीहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भएपनि देशका केही मुख्य नाकाबाट अवैध रुपमा चोरी पैठारी भइरहेको र त्यसले राजश्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन थालेको बताए थिए ।

चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिएका थिए । कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर रहेपनि अवैध रुपले ती वस्तु मुलुक भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा व्यवसायीले चिन्ता व्यक्त गरेका थिए ।

व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा ईलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानु पर्ने धारणा समेत व्यक्त गरेका थिए । छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा हटलाईन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको बताउदै यस प्रकारका रिर्पोटिङ सिधै मुख्यालयलाई गर्नसक्ने व्यवस्था गरिएको हुँदा अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्न समेत व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा नजिक पोल्ट्री फर्म र माछा पोखरी भएकोले अवैध रुपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको व्यवहारिक कठिनाई औंल्याउदै त्यसको उचित व्यवस्थापनको लागि सीमाबाट निश्चित दुरी तोक्नु पर्नेमा जोड दिएका थिए ।

यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरुसँग त्यस क्षेत्रका समस्या र समाधानको उपायका बारे मुख्यालयमा छलफल चलिरहेका बेला सरोकारवाला अन्य निकायहरुसँग समेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी वलको मुख्यालयले जनाएको छ ।

सीमा ईलाकामा सशस्त्र प्रहरी बलको सकृयताको कारण अघिल्लो आर्थिक वर्षको यहि अवधि पौष १८ गते सम्मको तुलनामा यो आर्थिक वर्षमा ४० प्रतिशत बढि बरामदी दाखिला भएको मुख्यालयले जनाएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु र
सुदूरपश्चिम प्रदेशस्थित नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपतिको समेत उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार