Logo

२४ पुस, वीरगञ्ज । कठ्याङ्ग्रिदो जाडो, चारैतर्फ प्वाल परेको फुस्को घर, परालको ओढ्ने ओछ्याउने विस्तारा, जाडो छल्नको लागि आगोको भर, वीरगञ्ज– ३० लासपर्साका भोला मल्लीको जीवन चक्र यसरी नै चलेको छ ।

शितलहर चल्न थालेपछि गरिब, दलित समुदाय तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको सुन्ने गरेका वीरगञ्ज ३० लालपर्साका डोम परिवारलाई सम्झने कोही नभएको मल्लीको भनाई छ । न्यानो लत्ता कपडाको अभावमा चिसोबाट बालबालिका र बृद्धबृदालाई जोगान मुस्किल हुदै आएको उनीहरुको भनाई छ ।

वीरगञ्ज महानगरपालिका–३० लालपर्सा स्थित दलित बस्तीमा डोम समुदायको १५ घर छन् । नदी र सार्वजनिक ठाउँमा बाँसले बनाएको झुपडीमा उनीहरुको बास छ । दैनिक ज्यालादारी र बाँसबाट बन्ने सामान बनाएर जीवनयापन गर्दै आएका डोम परिवारलाई जाडोले ज्यान जोगाउन धौ धौ परेको छ ।

महानगरपालिकाले दाउरा वितरण गरेको सुनेपनि बस्तीसम्म नआएको उनीहरुको दुखेसो छ । दाउरा र न्यानो कपडा माग गर्दा वडा अध्यक्षले समेत नसुनेको उनीहरुको गुनासोे छ ।

चिसोका कारण भत्किएकोे घरमा कम्बल र न्यानो कपडाको अभावमा निकै कठिनाई भएको माया देवी मल्लीको भनाई छ । महानगरले स्वीटर, कम्बलको व्यवस्था गर्नुपर्नेमा आफूहरुले केहि नपाएको उनको दुखेसो छ । हरेक टोलमा दाउरा लगायत न्यानो कम्बल र कपडा वितरण गरेको सुनेपनि बस्तीसम्म भने नआएको उनको गुनासो छ ।

चिसोका कारण आफूसगँ न्यानो कपडाको अभाव रहेको र दाउरा समेतको अभाव रहदा कठिनाई हुदै आएको बताउछन् लालपर्साका ६५ वर्षिय वृद्ध भोला मली । आफू बिरामी रहेकाले बाहिर हिड्ने काम नभएको र घरमै बस्दा समेत चिसो हावा चलेको र कपडा लगायत कम्बलको अभावमा आफु मारमा परेको उनको गुनासो छ । ‘बढ्दो शितलहरका कारण आफूहरुलाई निकै समस्या भएको छ, उनले भने,‘ कम कपडामा बाच्ँन निकै गाह्रो छ’ ।

चिसोबाट बच्ँन महानगरले चोकचोकमा दाउरा वितरण गरेको छ । आगो बाल्ने व्यवस्था मिलाएको छ । तर महानगरले वितरण गरेपनि आफूहरुले माग्दा समेत महानगर, वडाध्यक्ष कसैले आफूहरुको कुराको कुनै सुनुवाई नभएकोे बताउँछन् उही समुदायकी दलित महिला बुद्धियादेवि । दाउराको व्यवस्था गरिदिन मुखियासगँ पटकपटक दाउराको लागि माग गर्दा समेत एक शब्द समेत नबोलि गएको गुनासो उनको छ ।

वीरगञ्ज महानगर–३० लालपर्साका वडाध्यक्ष मनोज कुमार यादवले चिसोबाट बाच्न महानगरले एक ट्याक्टर दाउरा पठाएको र सम्पूर्ण वडाका दलित बस्ती र चोकमा वितरण गरेको जानकारी दिए ।

डोम समुदायको बसोबास भएको बस्तीमा भने दाउराको माग गरेको भएपनि घर घरमै गएर दाउरा वितण गर्ने अवस्था नरहेकाले थप दाउराको लागि महानगरसँग पहल गरिरहेको उनको भनाई छ । साथै महामनगरबाट समेत चाडैँ नै दाउरा उपलब्ध गराउने आश्वासन पाएको उनले बताए ।


सम्बन्धित समाचार