Logo

२६पुष, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा राजनीतिकर्मी, पूर्वसेना, तस्करसमेतको संलग्नता भएपछि पहुँच र सिफारिशको आधारमा कारवाहीमा ढिलाई भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले पुस ४ गते राति पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१को जङ्गलबाट जरायो शिकार गरेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको थियो ।

सो को अनुसन्धानको क्रममा राजनीतिसँग आबद्ध व्यक्ति, पूर्वसेनाका अधिकारी र चर्चित गाँजा तस्करसमेत संलग्न रहेका छन् । यस घटनामा पर्सा क्षेत्र नं ३ (१) का प्रदेशसभा सदस्य प्रमोद जयसवाल, पुर्व गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, नेपाली सेनाका पुर्व अधिकारी संजित शाही, वाग्मती प्रदेश क्षेत्र नम्बर ५ (१) का प्रदेशसभा सदस्य श्याम खड्का लगायतकको संलग्नता रहेको अनुसन्धानको क्रममा देखिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सुर्य खड्काले बताउनुभयो ।

प्रदेशसभा सदस्य जयसवाल, खड्का, र पुर्व गाउँपालिका अध्यक्ष जयसवालसँगको बयान सकिएको र अन्यको बयान लिने क्रम अहिले जारी रहेको खड्काले बताउनुभयो । यस घटनामा एक चालक उपेन्द्र यादव फरार रहेका छन् । बयानको क्रममा अर्कालाई चालकको रुपमा उपस्थित गराइए पनि उहाँ वास्तवीक चालक नभएको स्थानियको भनाई छ ।

पक्राउ परेका अभियुक्तहरूलाई ४५ दिनसम्म निकुञ्जले आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान गर्न पाउने कानूनी प्रावधान छ । घटना भएको अहिले २२ दिन बितिसक्दा पनि अन्तिम टुङ्गो लगाउनेतर्फ प्रयास नभएको बुद्धिजवीहरुको आरोप छ ।

अन्य मुद्दाहरूमा निकुञ्जले पहुँच र सिफारिश नभएका व्यक्तिलाई चाँडो फैसला गरेर कानूनी दायरामा ल्याए पनि अहिले ४५ दिनसम्म अनुसन्धान गर्न पाउने कानूनी आधारलाई टेकेर अनुसन्धानमा ढिलाई गरिरहेको स्थानिय, बुद्धिजवीहरुले आरोप लगाएका छन् ।


सम्बन्धित समाचार