Logo

२७ पुस, ठोरी पर्सा । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम निर्णयलाई लिएर ठोरी गाउँपालिकामा विवाद उत्पन्न भएको छ ।

आक्रोशमा आएका विद्यार्थीले गाउँपालिका वडा नं २ को कार्यालयमा तोडफोड समेत गरेका छन् । गएराति ९ बजेतिर सरस्वती मावि ठोरीका विद्यार्थीले वडा कार्यालयमा तोडफोड गरेका थिए ।

गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम निर्णयलाई लिएर सरस्वती मावि, ठोरीले असन्तुष्टी जनाएको थियो । अन्तिम निर्णय नमान्ने भन्दै वहिष्कार गरेर घर फर्कदै गरेका विद्यार्थीको समूहले वडा कार्यालयमा प्रवेश गरेर कुर्सी, सोफा लगायत फर्नीचर सामाग्रीमा क्षति पु¥याएकोे वडाध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए ।

विद्यार्थीले कार्यालयको ढोकामा लगाएको ताल्चा फोड्न खोजेका थिए । ताल्चा फोड्न नसकेपछि गेट माथिबाट कार्यालय परिसर भित्र प्रवेश गरी फर्निचर सामाग्रीमा तोडफोड गरेको उनले जानकारी दिए । विद्यार्थीको तोडफोडबाट कार्यालयको ३ वटा कुर्सी र सोफामा क्षति पुगेको छ ।

घटनाको सम्बन्धमा आज बिहान अनौपचारिक छलफल समेत भएको थियो । घटनाका सम्बन्धमा सरस्वती माविका प्रधानाध्यापक केशव प्रसाद रेग्मीले घटनाको नैतिक जिम्मेवारी लिने भएका छन् ।

पुस २४ गतेदेखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि ठोरीले सर्वाधिक १३ स्वर्ण पदक जितेको थियो । तर निर्णायकले पदकको अङ्कका आधारमा निर्णय गर्दा सरस्वती मावि ठोरी दोस्रो र ज्ञानज्योति मावि प्रथम भएको थियो ।

सोही निर्णयमा आपत्ती जनाउँदै विद्यालयले पुरस्कार बहिष्कार गरेको थियो । पुरस्कार बहिस्कार गरेर घर फर्कने क्रममा विद्यार्थीले ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठ लगायतको विरोधमा नाराबाजी समेत गरेका थिए । स्वर्ण पदकका आधारमा प्रथम, द्वितिय र तृतिय घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।


सम्बन्धित समाचार