Logo

२९ पुस, वीरगञ्ज । गृह मन्त्रालयको निर्देशन पछि स्थानीय प्रशासनले पर्सामा रहेका ६ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सञ्चालित रहेका क्रसर उद्योगहरुको अनुगमनको क्रममा नियम विपरित संचालनमा रहेका ६ वटा क्रसर उद्योगलाई बन्द गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्रकृया पुरा नगरेका र कानुन विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गर्ने क्रममा पर्सामा रहेको ६ वटा उद्योग बन्द गरिएको बताए । उनका अनुसार बन्द गराइएको क्रसर उद्योगहरुमा पप्पु कन्स्ट्रकसन गिटी बालुवा उद्योग, जय नेपाल बालुवा उद्योग, सत्यम शिवम वालुवा उद्योग, यादव क्रसर उद्योग, गंगा बालुवा उद्योग, बिसमिल्लाह क्रसर उद्योग रहेका छन ।

पर्सामा रहेका क्रसर उधोगहरु घरेलु तथा साना उधोग कार्यालयमा मात्रै दर्ता भएको तथा जिल्ला समन्यव समितिमा दर्ता नभएकाले त्यस्ता क्रसर उद्योगलाई तत्कालै कागजात लिएर आउन भनिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । दर्ता नभएका क्रसर उद्योगसँगै पर्सामा सञ्चालनमा रहेका अन्य सबै क्रसर उद्योगहरुलाई बन्द गर्न निर्देशन गरि सुचना समेत प्रकाशित गरिसकिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा रहेका अबैध क्रसर उद्योगहरुलाई तत्कालै बन्द गराउन निर्देशन दिएपछि पर्सामा पनि क्रसर उधोगमाथि प्रशासनले अनुगमन गर्दै बन्द गराइको हो ।


सम्बन्धित समाचार