Logo

२९ पुस, वीरगञ्ज । माइस्थान मन्दिर नजिक घर भएका राजकुमार शाहलाई वीरगञ्ज महानगरपालिकाले आफ्नै घरमा सवारी साधन लैजान रोक लगाएपछि वीरगञ्जका मेयर राजेशमान सिंहको ज्यादतीका विरुद्ध कसैले आवाज नउठाएकोमा दुःख लागेकोछ । मेयरको दादागिरी विरुद्ध कानुनी उपचारको लागि अदालतमा गुहार माग्न जाने अवस्था आइलागेको शाहको भनाई छ ।

माइस्थानमा घर बनाएको ७० बर्ष भयो तर अहिले आफ्नै घरमा आउन–जान पनि कारागारमा बसेको बन्दीको जस्तो जीवन विताउनु परेको साहको भनाई छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मन्दिर सौन्दर्यकरणका नाउँमा माइस्थान आसपासका बस्तीलाई बन्दी बनाएको आरोप स्थानीयबासीको छ ।

चार महिना पुग्न लाग्यो आफ्नो सवारी साधन मोटरसाइकल र साइकल समेत घरमा लान पाइएको छैन, माइस्थानका अर्का स्थायीवासिन्दा ओमप्रकास सरार्फले भने । वीरगञ्ज महानगरपालिकाले माइस्थान चोक देखि गहवा मन्दिर प्रवेश गर्ने रोडमा डिभाइडर लगाएर कुनैपनि सवारी साधन प्रवेश गर्न दिएको छैन । यो माइस्थानको बाटो मन्दिरको नाउँमा नभएको र महानगरपालिकाको नाउँमा समेत नभई माइस्थानमा लाजपूर्जा भएका घरधनीले प्रयोग गर्ने बाटो भएको उनको भनाई थियो ।

महानगरले सार्वजनिक बाटो कायमगरी नक्सामा छुट्टाएको सडक प्रयोग गर्न नदिने भनेर मेयरले उर्दी जारी गरेका छन । उनले गहवा मन्दिर प्रवेश गर्ने चारै तिरको रोडमा डिभाइडर लगाएर नगरप्रहरीलाई खटाएका छन् । कुन दिन आफ्नै घर पैदल जादा पनि मेयर राजेशमानको आदेश लिएर जानुपर्ने स्थिती आउने हो त्यो दिनको पखाईमा बसेको सरार्फको भनाई छ ।

घर बनाउदा समेत ५ देखि १० फुट आफ्नो निजी जमिन बाटोको लागि छोडेर सार्वजनिक सडक कायम रहेको बाटोमा हिडन नदिने मेयरको दादागिरी विरुद्ध कसैले बोल्न आट नगरेको सरार्फको भनाई छ । गहवा मन्दिर आसपासमा रहेका करिव एकसय घरपरिवारलाई बन्दी जस्तो बनाएर राखिएको छ, सरार्फले भने “जनताको नजिकको सरकार भनेको त जनतामारा सरकार पो रहेछ यो त ।”

मेयर राजेशमानलाई जिताउन सवैसँग भोटमागेर हिडेको अहिले त्यसैको सजाय भोग्न बाध्य भएका छौ, माइस्थानमा किराना पसल गरेका व्यापारी प्रदीप साहले भने “माइस्थानका व्यापारीलाई विस्थापित गर्ने मेयरको नीति कानुनी राज्य स्थापना गर्नु भन्दा दादागिरीमा शासन गर्न खोजेको देखिन्छ ।”

माइस्थानका व्यपारी अकलेश गुप्ताको गुनासो पनि राजकुमार र ओमप्रकाश भन्दा फरक छैन । महानगरपालिकाले माइस्थान भित्र आवतजावतमा रोक लगाएपछि व्यापार शून्य भएको गुप्ताको भनाई छ । उनले बैंकको किस्ता, व्याज, घरभाडा र बच्चाको स्कुलको फि समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए ।

मन्दिर साैन्दर्यकाे नाउँमा सार्वजनिक बाटो रोक्ने अधिकार महानगरका मेयरलाई कसले दियो, गुप्ताले भने “मेयर हुदैमा कानुन नलाग्ने भन्ने त हुदैन होला ।” मेयर राजेशमानले निर्वाचित भएको लगत्तै आफूले कुनै कानुन नमान्ने र आफूलाई कुनै कानुन नलाग्ने उद्घोष गरेका थिए । सायद त्यहीँ भएर होला आज मेयर सिंहले कानुन विपरित सार्वजनिक बाटोमा स्थानीयवासीलाई प्रयोग गर्न नदिने नीति लिएका छन् ।

माइस्थान मन्दिर आसपासमा रहेका करिव २ सय पसल बन्द हुने अवस्थामा पुगेको गुप्ताले बताए । स्थानीय सरकारको काम जनताको समस्य बुझ्ने हो की जनतालाई अप्ठारोमा पार्ने हो बुझ्न सकिएन उनले भने । यस्ता धेरै मेयर आए तर जनतालाई अप्ठारोमा पार्ने काम कसैले गरेनन् ।

माइस्थानमा तीन पुस्ता देखि व्यापार गर्दै आएका रोशन गुप्ताले माइस्थानका व्यापारीले चार महिना देखि पसलको भाडा समेत तिर्न नसकेको बताए । उनले २५ देखि ५० हजार सम्ममा माइस्थान आसपासमा रहेका पसलेहरुले घरवहाल तिर्ने गरेको बताए । वीरगञ्जका मेयर राजेशमान सिंहले मन्दिरको नाउँमा व्यापारीलाई मार्ने र आफूले शासन गर्न खोजेको देखिन्छ, गुप्ताले भने ।

माइस्थानमा रहेका हरेक घरको नक्सा पास छ, घरको अगाडी सार्वजनिक बाटो कायम गरिएको छ, तर महानगरपालिकाले अहिले आएर यो बाटो प्रयोग गर्न पाउँदैन भन्छ, कहाँको जायज कुरा हो ? व्यापारी शेखर कुमारले भने “माइस्थानका जनताको लालपूर्जा भएको घर हो, यो कुनै सार्वजनिक ठाउँमा घरबनाएर बसेको होइन ।”

महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकालाई कुनै अवरोध नगरेको तर लाजपूर्जा भएर बसेको घरलाई घेराबन्दीमा राखेर कारागार जस्तो बनाउन खोज्नु अर्को अपराध हो यसको विरुद्ध कानुन उपचार खोज्नु पर्छ ।” वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कानुन हातमा लिएर जंगली शासन चलाउन खोजेको आरोप माइस्थानमा वासिन्दाको छ । उनीहरुले मेयरको दादागिरी शासनका विरुद्ध कानुनी लडाई लड्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गहवामाई मन्दिर वीरगञ्जको गहना भएकोले यसको संरक्षण र साैन्दर्यकरणको लागि मन्दिर आसपासमा कुनैपनि सवारी साधन लैजान रोक लगाईएको बताए । उनले गहवामाई मन्दिरलाई सुन्दर बनाएर धार्मिक पर्यटक आकर्षक गर्ने मुख्य स्थलको रुपमा विकास गर्न आफूले यस्तो निर्णय लिन पुगेको बताए ।


सम्बन्धित समाचार