Logo

२ माघ, पर्सा । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरिशंकर चौधरी लगायतलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा २९ का वडा अध्यक्ष धमेन्द्र प्रसाद महतो थारु, पर्सागढी नगरपालिका ८ बस्ने नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, जितेन्द्र यादव, वडा नं ३ स्थित जनता मावि पकडिया बढनियारका शिक्षक मुक्ति पाठक रहेका छन ।

त्यसैगरी वन कार्यालयका जमदार जीतबहादुर तमाङ्ग, वडा न २ ठेकेदार लक्ष्मण प्रसाद, पर्सागढी–९ बढेर्वा स्थित बडेर्वा मावि शिक्षक गौरी शंकर चौधरी, पटेर्वा सुगौली गापा वडा न ३ अब्दुल मुकेरी, पटेर्वा सुगौली स्वास्थ्य शाखाका सिनियर अहेब सखुवाप्रसौनी–१ दोहरीका दिपनारायण चौधरी, पर्सागढी–२ का पूर्व वडा अध्यक्ष बेदमन दास चौधरीलाई जुवातास खेलेको आरोपमा पक्राउ परेका हुन ।

पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट नगद र तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ बुक तास सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

व्यवसायिक रुपमा जुवा तास खेलाईरहेको छ भन्ने सूचनाका आधारमा सोमबार दिउँसो प्रहरी टोलीले छापामारी गरेको थियो । स्थानीयवासीका अनुसार भागवत साह विगत लामो समयदेखि जुवा तास व्यावसायिक रुपमा खेलाउने गरेको र बनजंगलबाट अवैध रुपमा काठ पैठारी गरी सालको काठको अवैध व्यापारमा संलग्न रहेको आरोप लाग्ने गरेकाे छ ।


सम्बन्धित समाचार