५ माघ, वीरगञ्ज । मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।
प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
वीरगञ्ज स्थित घण्टाघरमा रहेका शहिदको शालिकमा माल्यार्पण गरेर जनता समाजवादी पार्टी पर्साले बलिदान दिवस मनाएको छ । पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएको कार्यक्रमा जसपाका केन्द्रीय सदस्य फिरोज मंसुर, मधेस प्रदेश सभाका सदस्य प्रमोद जयसवाल, जसपाका मधेस प्रदेशका उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तवरेज अहमद लगायतको उपस्थिती रहेको थियो ।
वीरगञ्ज घण्टाघर चोकस्थित प्रहरी चौकीको छेउको खाली जग्गामा निर्मित शहिद स्मारक परिसरमा निर्माण गरिएका मधेस आन्दोलनका ७ जना शहिदहरुका शालिकमा माल्यार्पण गरेर बलिदानी दिवस मनाइएको हो ।
मधेस आन्दोलनका क्रममा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोला प्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशिष राम गरि ७ जना शहिदको शालिकमा माल्यार्पण गरिएको हो ।
यसपटक वीरगञ्जमा भएको बलिदानी दिवसमा पर्सा १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, पूर्व मुख्यमन्त्री लालबावु राउत र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थिती थिएन । सांसद प्रदीप यादव काठमाडौं र पूर्व मुख्यमन्त्री लालबावु राउत जनकपुर भएको कारण आजको कार्यक्रम उपस्थित हुन नसक्नु भएको जसपा पर्साका सचिव तवरेज अहमदले जानकारी दिए ।
आज प्रतिनिधि सभामा सभामुखको निर्वाचन भएको र त्यसलाई छोडेर आउन नमिलेकोले सांसद यादव उपस्थित हुन नसकेको अहमदले बताए । उनले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि उपस्थित नभएको जानकारी दिए । उहाँ कहाँ हुनुहुन्छ मलाई जानकारी भएन, पर्सा सचिव अहमदले भने पूर्व मुख्यमन्त्री राउत जनकपुर भएकोले उपस्थित हुन नसकेका हुन ।
वीरगञ्ज महानगरपालिकाका मेयर वीरगञ्जमा भएर पनि बलिदानी दिवसमा भाग लिन नआएको जसपाका एक जिल्ला सदस्यले बताए ।
२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
प्रदेश सरकारसहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।