Logo

५ माघ, पोखरीया पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकको अभाव हुदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

१८९ जना विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा बालविकासका १ र अन्य दुइ गरि तीन जनामा मात्र शिक्षक शिक्षिका कार्यरत छन् । पाँच कक्षा सम्मको पठनपाठन हुने विद्यालयमा तीन जना मात्र शिक्षक शिक्षिका कार्यरत भएका कारण विद्यार्थीहरुको पठनपाठनमा असर परिरहेको अभिभावकहरुको गुनासो छ ।

शैक्षिक सत्र शुरु भएको १० महिना बित्न लाग्दा समेत शिक्षक नहुँदा पठनपाठनमा अवरुद्ध भएको र विद्यार्थीहरुको भविष्यसंग खेलवाड गर्ने काम भइरहेको अभिभावकहरुले बताएका छन् । विद्यालयमा ५ कक्षा पढने विधार्थीहरुलाई किताब पढ्न पनि नआउने, एउटै कक्षाकोठामा ४ र ५ को विद्यार्थी राखेर पठनपाठन गराइएको छ।

विद्यार्थी र कक्षाको संख्याको अनुपातमा शिक्षकको संख्या नहुदा बालबालिकाहरुको शैक्षिक गुणस्तरमा नै प्रभाव परेको शिक्षका रोबैदा खातुनले बताइन। विद्यालयमा थप ३ जना शिक्षक आवश्यक रहेको भन्दै उनले आवश्यक शिक्षकको पदपूर्तीका लागि नगरपालिकाको कार्यालयमा पटक पटक माग गरेको भएपनि सुनुवाइ नभएको खातुनले गुनासो गरिन् ।
विद्यालयमा भर्खरै सरुवा भइ आएका प्रध्यानाध्यापक लालबाबु चौहानले बिद्यालय सुधारका लागि आफु सक्दो सहयोग गर्ने र अगामी १ वर्ष भित्रमा पालिकाको उत्कृष्ट विद्यालय बनाउन प्रयास गर्ने बताए ।

पोखरीया नगरपालिकाले समयमा शिक्षकको व्यवस्था गर्न नसक्दा विद्यार्थीको भविश्यमाथि नै खेलवाड भएको अभिभावकको गुनासो छ ।


सम्बन्धित समाचार