Logo

८ माघ, वीरगञ्ज । समाजवादी किसान महासंघले सरकारले हालै निर्धारण गरेको उँखुको मूल्य र धानको समर्थन मूल्यबाट किसानलाई मर्का परेको भन्दै आफ्नो निर्णयमा पुर्नविचार गर्न सरकारसँग माग गरेको छ ।

जनता समाजवादी पार्टी निकट किसान महासंघको माघ ७ र ८ गते वीरगञ्जमा सम्पन्न बैठकले सरकारले हालै निर्धारण गरेको उँखुको मूल्यबाट किसानको लागत खर्च समेत धान्न नपुग्ने भएकोले त्यसमा पुर्नविचार गर्न सरकारसँग माग गरेको छ । सरकारले गत हप्ता मात्र उँखुको मूल्य निर्धारण गरेको थियो । गत बर्षको तुलनामा प्रति क्वीन्टल २० रुपियाँ मात्र थप गरेको छ ।

सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानले सस्तोमा धान बिक्री गर्न बाध्य हुनुपरेको र तोकेको मूल्यबापतको रकम समयमा नपाउँने भएकोेले किसानको धान सिघै सरकारले नै खरिद गरी अप्ठारोमा परेका किसानलाई सहज गर्न माग गरेको छ । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण नगर्दा किसानले सस्तोमा व्यापारीलाई धान विक्री गर्नु परेको महासंघको ठहर छ ।

किसानको नाउँमा वितरण गरिने कृषि ऋण लिन किसानलाई समस्या भएको र तोकिएको समपदण्ड तथा प्रकृयाका झण्झटिलो भएकोले कृषि ऋणलाई बास्तविक किसानले सरल र सहज तरिकाले पाउँने गरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेको समाजवादी किसान महासंघका महासचिव ओमकृष्ण श्रेष्ठल बताए ।

बैठकले सात प्रदेशमा समाजवादी किसान महासंघलाई क्रियाशिल बनाई राख्न २०७९ फागुन मसान्त सम्ममा पुर्नगठन अभियान संचालन गर्ने निर्णय गरेको जसपा पर्साका सचिव तथा समाजवादी किसान महासंघका उपमहासचिव तवरेज अहमदले जानकारी दिए ।

समाजवादी किसान महासंघमा चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । समाजवादी किसान महासंघका उपमहासचिव तवरेज अहमदका अनुसार मधेस प्रदेशबाट महाराज यादव, कर्णालीबाट प्रवजन उपाध्याय र लुना चौलागाई तथा लुम्बीनी प्रदेशबाट प्रवजन शाहीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको बताए ।


सम्बन्धित समाचार