Logo

७ माघ, बारा । बारामा कुष्ठरोगका ६ सय १३ जना विरामी फेला परेका छन । जसमा ५ सय १७ जना जटिल अवस्थाको र ८७ जना समान्य अवस्थामा रहेका छन् ।

बाराको कलैयामा कुष्ठरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजनागरी द ल्याप्रोसी मिसन नेपालले यो तथ्याङ्क सार्बजनिक गरेको हो । द ल्याप्रोसी मिसन नेपालकी बारा, पर्सा र रौतहट जिल्ला अनुगमन तथा मूल्यांकन अधिकृत रिजु तिवारीका अनुसार बारा जिल्लामा रहेका पालिका मध्ये सबैभन्दा बढी पचरौता नगरपािलकामा १ सय २९ जना कुष्ठरोगी फेला परेका हुन ।

बारा जिल्लाको सवै पालिकामा गरिएको कुष्ठरोगी खोज अनुसन्धान कार्यक्रम अन्तरगत सबभन्दा कम निजगढ नगरपालिकामा र देवताल गाउँपालिकामा कुष्ठरोगी फेला परेका छन । ती दुवै पालिकामा ३÷३ जना विरामी मात्र फेला परेको तिवारीले बताइन् ।

द ल्याप्रोसी मिसन नेपालका अनुसार कोल्हबी नगरपालिकामा ८७ जना, जीतपुरसिमरा उपमहानगरपालिकामा ७३ जना, परवानीपुर गाउँपालिकामा १३ जना, प्रसौनी गाउँपालिकामा १९ जना, बिश्रामपुर गाउँपालिकामा ४२ जना र फेटा गाउँपालिकामा १९ जना कुष्ठरोगी फेला परेका छन ।

यसैगरी कलैया उपमहानगरपालिकामा ४७ जना, करैयामाई गाउँपालिकामा १० जना, बारागढी गाउँपालिकामा ५ जना, आर्दश कोतवाल गाउँपालिकामा ५० जना, सिम्रौनगढ नगरपालिकामा १३ जना, महागढीमाई नगरपालिकामा ५७ जना र सुबर्ण गाउँपालिकामा ३४ जना कुष्ठरोगीका विरामी रहेको द ल्याप्रोसी मिसन नेपालले जनाएको छ ।

पर्सा जिल्लामा ५ सय ४१ जना कुष्ठरोगका बिरामीहरु फेला परेका छन । जिल्लामा फेला परेका सबै बिरामीको नियमित उपचार भैरहेको दि लेप्रोसी मिसन नेपाल बाराका फोकल पर्सन प्रिती थापाले बताईन । हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निःशुल्क पाइरहेको उनको भनाई छ । जिल्लाको १६ वटा पालिकामध्ये सबैभन्दा धेरै प्रभावित रहेको पालिका यही भएकोले पनि आगामी माघ १३ गते पचरौतामा छाला शिविर आयोजना गर्न लागिएको थापाले जानकारी दिइन् ।

दि लेप्रोसी मिसन नेपाल बारामा कार्यरत डा. प्रकाश ढुंगानाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोग बढी किटाणु भएमा एमबी र कम किटाणु भएको पीबीको नामले चिनिन्छ ।

कुष्ठरोग कम सर्ने सरुवा रोग भएपनि उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ । सामान्यतया यो रोग सरेको २ देखि ५ वर्षभित्रमा कुष्ठरोगको चिन्ह र लक्षण देखा पर्ने डा. ढुंगानाले जानकारी दिए ।

छालामा रातो वा फुस्रो दाद आएमा, अनुहार वा शरीरमा गीर्खाहरू देखिएमा, कानको लोति बाक्लो र चम्किलो देखिएमा लगायतका लक्षणहरू कुष्ठरोगको लक्षण हुने चिकित्सकहरुले बताउँने गर्छन् । नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी, तथा प्रेषण केन्द्रमा कुष्ठरोगको औषधी निशुल्क पाइन्छ ।


सम्बन्धित समाचार