Logo

आदर्श, साउथ जोन र गौतम मावि प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न भएका तीन वटा खेलको विजेता बन्दै यी तीन विद्यालय क्वाटर फाईनलमा प्रवेश गरेका हुन् ।

आदर्शनगर रंगशालामा भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले पराजित गर्दै आदर्श मावि विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको न्यू वेभले १४ दशमलब ५ ओभर खेलेर १० विकेटको क्षतिमा मा ५९ रन बनाएको थियो ।

६० रनको झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको आदर्शले ६.५ ओभर खेलेर २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । ३ विकेट लिन सफल न्यू वेभका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए ।

सोमबार नै भएको खेलमा मस्कोट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै साउथ जोनले क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ रोजेको मस्कोटले पुरै १५ ओभर खेलेर ४ विकेटको नोक्सानीमा ६५ रन मात्रै बनाएको थियो ।

६६ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको साउथ जोनले ८ दशमलब २ ओभर खेल्दै मात्र १ विकेटको क्षतिमा भेट्टायो । टिमलाई जिताउन ३५ रनको योगदान दिएका साउथ जोनका अमित कुशवाहा म्यान अफ द म्याच घोषित भए ।

सोमबार भएको तेस्रो खेलमा विकन माविलाई १ विकेटले पराजित गर्दै गौतम माविले क्वाटर फाईनलमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ रोजेको विकनले १४ दशमलब २ ओभरमा पुरै विकेट गुमाएर ७९ रन बनाएको थियो ।

८० रनको जवाफी लक्ष्य पछ्याएको गौतमले १२ दशमलब १ ओभर खेल्दै ९ विकेटको क्षतिमा ८३ बनाएर जित निकाल्यो । ३ ओभरमा ३ विकेट लिएर टिमलाई जीत्न सघाएका गौतम माविका रितेश कुमार सर्राफ म्यान अफ द म्याच घोषित भए ।

भोलि मंगलबार पनि प्रि क्वाटर फाईनल चरणका तीन खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । ज्ञानदा एकेडेमी र एमईएस स्कूल, मुनलाईट र हिमालयन पिरामिड तथा लिटल एन्जल्स मावि र ज्ञानज्योति माविबीच प्रतिश्पर्धा हुनेछ । २५ वटा विद्यालय निजी तथा आवासिय विद्यालय सहभागी भएको प्रतियोगिता माघ १४ गतेसम्म संचालन हुनेछ ।


सम्बन्धित समाचार