Logo

बारा ०९ माघ । जीतपुरसिमरा उपमहानगरपालिकाबाट नियमसंगत रुपमा लिएको ठेक्का बापतको रकम करोडौ रुपियाँ ठेकेदारहरुले हाल सम्म उपमहानगरलाई नबुझाएकोले राजश्व असुलीमा समस्या आएको जितपुर सिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको ठेक्का सकार गरेका ठेकेदारले उपमहानगरपालिकालाई बुझाउँनुपर्ने ८ करोड २० लाख ५१ हजार ९ सय ५५ रुपैया अहिलेसम्म नबुझाएकाे राजश्व शाखा प्रमुख राम शर्माले जानकारी दिए ।

उपमहानगरपालिकाले बारम्बार बक्यौता रकम बुझाउँन ठेकेदार कम्पनीलाई ताकेता गर्दापनि उनीहरुले अटेरी गरी राजश्व बुझाउन नआएको उपमहानगरापलिकाले जनाएको छ ।

२०७७ साल जेठ मसान्त सम्मकोलागि नदीजन्य पदार्थ उत्खन्न तथा बिक्रि गर्ने ठेक्का लिएको न्यु पाथिभरा सप्लायर्स हेटौडाले १ करोड २० लाख २८ हजार ९० रुपैया, श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमराले १ करोड २७ लाख ३० हजार २ सय २१ रुपैया, ओम सप्लायर्स कलैयाले ९९ लाख ९९ हजार ९ सय ९९ रुपैया उपमहानगरपालिकालाई बुझाएका छैनन् ।

त्यसैगरी २०७८ साल जेठ मसान्तसम्मकोलागि ठेक्का बुझेका बिनोद साह निर्माण सेवा कलैयाले ३ करोड १२ लाख रुपैया उपमहानगरपालिकालाई अहिलेसम्म बुझाएका छैनन् ।

यसैगरी २०७७ असार सम्मकोलागि सड्क उपयोग शुल्क उठाउँन ठेक्का लिएका न्यु गुप्ता सप्लायर्सले २१ लाख २५ हजार, कबाडी करको ठेक्का पाएका सिमरा कन्स्ट्रक्सनले १ करोड २१ लाख ५३ हजार ६ सय ९३ रुपैया, पाडा भैसी बजारको ठेक्का लिएका जितेन्द्र प्रसाद यादबले १५ लाख रुपैया र बिज्ञापन करको ठेक्का सकार गरेका रुटस एड्भटाईजिङ, कलैयाले ३ लाख १४ हजार ९ सय ५२ रुपैयाँ जितपुर सिमरा उपमहानगरपालिकालाई बुझाउँनु पर्ने रकम नबुझाएर अटेरी गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

बिनोद साह निर्माण सेवा र सिमरा कन्स्ट्रक्सनले कोभिड संक्रमणको कारण आफुहरुलाई घाटा भएको बताउँदै जिल्ला अदालत बारामा बक्यौता रकम मिनाहाको माग राख्दै मुदा दायर गरेका छन् ।

पाडा भैसी बजारको ठेक्का लिएको जितेन्द्र यादब र बिज्ञापन कर उठाउँन ठेक्का सकार गरेको रुट्स एड्भटाईजिङ कलैयाको उपमहानगरपालिकामा पेश गरेको पहिलाको ठेगाना परिवर्तन भएको कारण उमहानगरपालिकाबाट पठाइएको पत्र फिर्ता आएको उपमहानगरपालिकाले जनाएको छ ।

न्यु पाथिभारा सप्लायर्स हेटौडा, श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमरा र ओम सप्लायर्स कलैयाको गलत बिल जारी गरेको भन्दै अख्तियार अनुसन्धान कार्यालय हेटौडा र राजश्व अनुसन्धान कार्यालय पथलैयाले अनुसन्धान गरिहेको छ ।

नदीजन्य पदार्थहरु सङ्कलन तथा बिक्री ठेक्कामा ठेक्कदारसँग मिलेमतो गरेको, ठेकदारले पैसा नतिर्दा जफत गर्नुपर्ने बैक ग्यारेन्टी रकम जफत गरि असुल नगरेको लगायतको कारण देखाउँदै जीतपुरसिमरा उपमहानगरपालिकाको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई निलम्बनमा परेका छन् ।

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ । सेढाई निलम्बनमा पर्दा उनी बाराका सहायक प्रमुख जिल्ला अधिकारी थिए ।


सम्बन्धित समाचार