Logo

११ माघ, वीरगञ्ज । भूमि आयोग पर्साले दोस्रो चरणको लागत संकलनको काम शुरु गरेको छ । पर्साको पर्सागढी नगरपालिकाबाट आयोगले दोस्रो चरणको काम शुरु गरेको हो ।

पहिलो चरणअन्तरगत ८ सय जनाको लागत संकलन भइसकेको आयोग पर्साका अध्यक्ष तबरेज अहमदले नगरपालिकामा आयोजित एक दिने अभिमुखीकरणका क्रममा जानकारी दिए । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले बुधवार अभिमुखीकरण पनि सम्पन्न गरेको छ ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।

फागुन मशान्तभित्र कम्तीमा २ सय जनालाई भूमि उपलब्ध गराउने गरी काम भइरहेको अध्यक्ष अहमदको भनाई छ । पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरीले आयोगको कामको सह्राना गर्दै नगरपालिकाले समन्वय र सहजीकरणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविरमण भट्टराई, आयोकी सदस्य हेम कुमारी भट्टराई, विज्ञ सदस्य हिमाल चन्द्र गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकास्तरको भूमिहिन सहजीकरण समितिका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार