Logo

११ माघ, बारा । मोतिहारी अमलेखगंज पेट्रोलियम पाईपलाईनबाट पेट्रोल ल्याउन आवश्यक पूर्वाधार निर्माणको कार्य तीब्र गतिमा भईरहेको छ ।

पहिलो चरणमा पाईपलाईन निर्माण गरी पाईपलाईनमार्फत डिजेल ल्याएको परियोजनाले दोस्रो चरणमा पेट्रोल ट्यांक लगायत बिबिध पूर्वाधारहरुको निर्माण गरी पेट्रोल आयात गर्ने गृहकार्यमा लागिपरेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख प्रदीप यादबले जानकारी दिए ।

आयल निगमले २ वटा ४ हजार एक सय किलो लिटर क्षमताको ट्यांकी र २ वटा २ सय ५० किलो लिटर क्षमताको ट्रान्समिक्स ट्यांकहरु निर्माण गर्ने कार्यहरु गरिरहेको छ । अहिले पेट्रोलको भण्डारण क्षमता ३ हजार ४ सय ३० किलो लिटर छ भने यसलाई १६ हजार ६ सय ३० किलो लिटर पुरयाउँने लक्ष्य रहेको प्रमुख यादबले बताए ।

पाईपलाईनबाट डिजेल ढुवानी गर्दा करिब २ अर्ब बचत हुँदै आएको छ । पाईपलाईनबाट पेट्रोल आउँन सुरु हुँदा ढुवानी भाडा बचत भई एक लिटरमा करिब ३ रुपैया बचत हुने देखिन्छ । पाईपलाईनबाट डिजेल र पेट्रोल आउँन थालेपछि डिजेल ५.५ दिन र पेट्रोल ७ दिनकोलागि स्टक रहने जनाईएको छ ।

हाल पाईपलाईनबाट डिजेल आउँदा पाईपलाईन करिब ४२ प्रतिशत प्रयोगमा आएको छ भने पेट्रोल पनि आउँन थालेपेछि ७२ प्रतिशत सम्म आउँने छ । सन् २०२२ मा सुरुवात भएको दोस्रो चरणको परियोजना एक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर नेपाल सरकारसँग आर्थिक अभाव हुँदा परियोजना समयमै सम्पन्न हुन सकेन् ।

दोस्रो चरणको परियोजना २०२४ जनवरीसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएर कार्य अघि बढाईएको छ । पाईपलाईन परियोजना बनाउँन लागेको कुल लागत २ सय ७५ करोड भारतीय रुपियाँ लागेको थियो । जसमा भारतले आफनो भागमा परेको २ सय करोड भारतीय रुपियाँ तिरिसकेको छ भने नेपालले ७५ करोड भारतीय रुपियाँ तिर्न बाँकी छ ।

सन् २०१५ मा तिर्नुपर्ने ७५ करोड भारतीय रुपियाँ २०२२ सम्ममा आईपुग्दा लागत दोब्बरले बृद्धि भई भारतीय रुपियाँ १ सय ५४ करोड भएको छ । परियोजनाको दोस्रो चरणको कार्यप्रगतीमा औपचारिक भुमिपुजन, परियोजनाकालागि आवश्यक जनशक्ति, सामग्रीहरु आवतजावत, साईट क्लिरीङ्ग, छेकबार वर्किङ्ग साईट आईसोलेसन, साईट सर्भे, निर्माण गरिने संंरचनाको बास्तबिक रेखाङ्कन र बिबिध सिभिल कामहरुको सुरुवात भएको परियोजनाको सिभिल ईन्जिनीयर अभिषेक भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार