Logo

१३ माघ, ठोरी पर्सा । ठोरी १ सिंहे डाँडाका दिलबहादुर कुँवरले झिसमिसे अध्यारोमा गाग्री बोकेर जंगल र झाडीको बाटो हुदै खोला नजिकको कुँवामा पानी बोकेर जीवन धानेको पनि ५८ बर्ष बितेछ । मूलुकमा तीनवटा व्यवस्था परिवर्तन भयो तर कुँवरको अवस्था उस्तै छ ।

देशमा पंचायती व्यवस्था हुदै प्रजातन्त्र, लोकतान्त्रीक संघीय गणतन्त्र आएको पनि धेरै बर्ष भयो तर त्यसको अनुभूति कुँवरले गर्न पाएका थिएनन् । सिंहदरवारमा हुने व्यवस्था परिवर्तनले उनको जीवनमा कुनै प्रभाव पार्न सकेको थिएन् । जनताको पिरमर्का बुझ्ने सरकार व्यवस्थाको खोजीमा थिए कुँवर ।

सिंहे डाँडाको इतिहास २०२१ साल देखि जोडिएको छ । त्यस क्षेत्रमा बसोबास गर्ने १८ घर मध्ये खानेपानीको अभावकै कारण ९ घर त्यहाँबाट केही बर्ष पहिलेनै विस्थापित भए । अहिले सिंहे डाँडामा ९ घर मात्र छन् । उनीहरुलाई खानेपानीको जोहो गर्न झण्डै ५ सय मिटर ओरालो–उकालो बाटो तयगरेपछि मात्र घरमा पानी ल्याउन सकिन्थ्यो । खानेपानीको समस्याले बसौँ देखि सताई रहेको थियो सिंहे डाँडाका बस्तीलाई ।

ठोरी गाउँपालिकाले आफ्नो बजेटबाट इनारमा मोटर जडान गरी सिंहे डाँडामा पानी झार्न सफल भएपछि दिल बहादुरको मुहारमा खुसी छाएको छ । देशमा संघीय लोकतान्त्रीक गणतन्त्र आएको १६ बर्ष पछि गाउँमा ब्यवस्था परिवर्तन भएको महशुस गरे । पानीको लागि जंगली जनावरको शिकार हुने हो कि भन्ने पीडाले जीवन भर पिरल्थ्यो उनलाई । डाँडाबाट इनार सम्म पुग्दा जंगल र झाडी भएको डोरेटो बाटो हिडनुपर्ने थियो ।

ठोरी गाउँपालिकाले ७ लाखको लागतमा सिंहे डाँडा, तीनघरे होमस्टे र वरपिपल टोलमा खानेपानी पुर्‍याएको छ । बिहिवार गाउँपालिकाले मोटर लगाएर इनारको पानी डाँडामा रहेको ट्यांकीमा झारेपछि त्यसगाँउका जनताले पानीको लागि भोग्नु परेको समस्याबाट छुटकरा पाएका छन् ।

दिल बहादुर कुँवरले घर अगाडीको पानी ट्यांकीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापे । ५८ बर्ष सम्मको कठोर संघर्षलाई स्मरण गर्दै खानेपानीले जीवन नै फेरिएको जस्तो महशुस गरे । उनले भने “अव पानी खान नपाएर मरिन्छ की भन्ने त्रासबाट मुक्ती मिलेको छ ।”

ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले आफू केटाकेटी भएको समय देखिनै सिंहे डाँडाका वासिन्दाले पानीको लागि गरेको संघर्ष देख्दै आएको बताईन् । मोटरले माथि पानी फाल्न सक्दैन की भन्ने डर लागेको थियो तर सफल भइयो उनले भनिन् “खानेपानीको करण बस्ती विस्थापन हुन्छ की भन्ने अवस्थाबाट पार पाएका छौं ।”

आफू निर्वाचित भएपछि जनताले भोग्नु परेको समस्यालाई सम्बोधन गर्न पहल गर्दै आएको र यसले थप हौसला मिलेको उपाध्यक्ष रेग्मीको भनाई थियो । २०२१ साल देखि बसोबास गर्दै आएको सिंहे डाँडाको बस्तीका जनताले बसौँदेखि सास्ती भोग्नु परेको उपाध्यक्ष रेग्मीको बुझाई छ ।

यस क्षेत्रका जनताको समस्यालाई ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्राथमिकता दिएकोमा धन्दवाद दिदै दिल बहादुर कुँवरले भने “जनताको नजिकको सरकारको रुपमा ठोरी गाउँपालिका प्रमुखलाई बुझ्न पाएको सिंहे डाँडाका जनता खुसी छौ ।”

सिंहे डाँडा, तीनघरे होमस्टे लगायतको त्यस क्षेत्रलाई एउटा सुन्दर पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने ठोरी गाउँपालिकाको योजना रहेको उपाध्यक्ष रेग्मीले बताईन । जनताको साथ यसरीनै पाइयो भने पालिकाले बनाएका योजना समयमा पुरा गर्न सकिनेमा विश्वस्त छौ, उनले भनिन् ।


सम्बन्धित समाचार