Logo

१३ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरुले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मुलभूत रुपमा धेरै कमरेडहरुको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताए । उनले राष्ट्रिय सहमति हुने नहुने बेग्लै कुरा भएपनि आफ्नो पार्टीको मत राष्ट्रिय सहमतिमै रहेको बताए । त्यसक्रममा अरु पार्टीसँग गर्ने पहल पनि बाँकी नै रहेको बताए ।

उनले राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र हुने बताए । बैठकमा पार्टी एकताबारे नेसपा, विप्लव नेतृत्वको नेकपासँग वार्ता चलिरहे पनि निष्कर्षमा पुग्न नसकिएको बताए ।

अन्तरघात गर्नेलाई कार्वाही गर्ने

बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानबिन समिति बनाएर कार्वाही गर्नुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।

‘चुनावी समीक्षाका क्रममा केही नेताहरुले अन्तरघातीहरुलाई कारबाही गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ’, एक स्थायी समिति सदस्यले भने, ‘यो लगायत विभिन्न विषयमा छलफल भइरहेको छ ।’ यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा गठन गरेको छानबिन समिति त्यसै सेलाएको थियो ।

बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

माओवादीले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि संवाद गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति गरिसकेको माओवादीले नेकपा एस, विप्लव लगायतका दलहरुसँग संवाद भइरहेको जनाएको छ ।

यो बाहेक बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी रहेको नेताहरुको भनाइ छ ।


सम्बन्धित समाचार